मंसिर १९, हेटौंडा–लोकतान्त्रिक बाम गठबन्धनको हितका लागि भन्दै वर्तमान प्रदेश सरकारको मुख्यमन्त्रीबाट ब्याक हटेका नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अबको मुख्यमन्त्री आफू हुनुपर्ने दाबी पेश गरेका छन् ।
काठमाडौंमा पार्टीका शीर्ष नेताहरुसँग भेट गर्दै बानियाँले प्रदेशको अबको मुख्यमन्त्री आफूलाई बनाउन लबिङ थालेका हुन् । मकवानपुर क्षेत्र नम्बर–२ (२) बाट दोस्रो कार्यकालका लागि विजयी बानियाँले प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार र आफू मुख्यमन्त्री हुनुपर्ने दाबी पेश गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसको वागमती प्रदेश संसदीय दलका नेतासमेत भइसकेका बानियाँ यसअघि नै मुख्यमन्त्री हुने ‘सहमति’ भएको थियो । वागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने र दोस्रो चरणमा बानियाँले चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, पाण्डे सहमतिबाट पछि हटेपछि केन्द्रीय गठबन्धन जोगाउन बानियाँलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै ब्याक गराएर चुनावपछि बन्ने गठबन्धन नेतृत्वको प्रदेश सरकारको मुख्यमन्त्री बन्ने तयारी थाल्न भनेका थिए ।
पछिल्लो चरणमा बानियाँले प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश सभापति एवम् निवर्तमान संसदीय दलका नेताका रुपमा थाल्नुपर्ने पहलकदमीका क्रममा आफ्नो भेटघाटलाई तीव्र बनाएका छन् । भेटका क्रममा शीर्ष नेतृत्वले आफ्नो प्रस्तावलाई सकारात्मकरुपमा लिएको उनले बताएका छन् ।

वागमती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टी र गठबन्धनलाई समेत मजबुद अवस्थामा पु¥याउने प्रतिवद्धतासाथ अघि बढेका बानियाँ स्थानीय तहमा कांग्रेसलाई ४८ र गठबन्धनलाई ७८ प्रतिशत् जित हासिल गराउन सफल भएका छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेससहित गठबन्धनलाई सफलता दिलाउन बानियाँले प्रदेश समितिलाई निर्वाचनमा व्यवस्थित परिचालन गरेका थिए । २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १४ गरी २२ सिट रहेको नेपाली कांग्रेसलाई गठबन्धनका सहयात्री दललाई समेत विश्वासमा लिँदै हालको निर्वाचनमा बानियाँले वागमती प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो दल बनाएका छन् । हाल नेपाली कांग्रेसले वागमती प्रदेशमा प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने दोलखामा मतगणना जारी रहँदा कांग्रेसले थप सिट जित्ने सम्भावना छ । समानुपातिकतर्फ पनि कांग्रेसले १२ सिट ल्याउने देखिन्छ । निर्वाचनपछिको वागमती प्रदेशसभामा कांग्रेस अघिल्लो प्रदेशसभामा भन्दा करिब दोब्बर सिटसहित पहिलो दल बन्ने भएको छ ।
प्रदेशसभामा हालको नयाँ अंकगणित र यसअघिको सहमतिलाई निरन्तरता दिँदा बानियाँले मुख्यमन्त्रीमा दाबी गर्नु स्वभाविक रहेको पार्टीका नेताहरु बताउँछन् । बानियाँले यसअघि २०७० सालमा पहिलो पटक नेपाली कांग्रेसलाई मकवानपुरबाट विजययात्रा सुरुवात गराएका थिए ।
त्यसपछि संविधानसभा सदस्य, गृहराज्यमन्त्री, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाली कांग्रेस मकवानपुर सभापति भइ मकवानपुरमा कांग्रेसलाई चलायमान बनाउन सफल बानियाँ प्रदेश सभापति भएपछि प्रदेशभर कांग्रेसलाई क्रियाशील बनाइरहेका छन् । वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीलाई पनि बानियाँले प्रभावकारीढंगले सञ्चालन गरेको उनका सहकर्मी सांसद्हरुको भनाइ छ । आफू प्रतिपक्षमा रहँदा रचनात्मकढंगले सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गरेका बानियाँले गठबन्धन सरकारलाई समावेशी बनाएका थिए ।
चेपाङ समुदायबाट पहिलो पटक सन्तबहादुर चेपाङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएपछि बानियाँको समावेशी छवि बाहिर आएको थियो । नेपाली कांग्रेसलाई सामाजिक हितका काममा जोड्दै लगेका बानियाँले जाडोमा न्यानो कपडा होस् वा कोरोनामा खाद्यान्न बाँडेर जनस्तरमा कांग्रेसप्रति भरोसा बढाउँदै लगेका छन् । सिन्धुलीमा हात्तीप्रभावित परिवारलाई राहत वितरण, चेपाङ समुदायलाई न्यानो कपडा, विद्यार्थीलाई विद्यालय पोशाक, कोभिडप्रभावित मजदुर एवम् विपन्न समुदायलाई राहत वितरणमा पनि आफ्नो व्यक्तिगत् खर्च र प्रदेश कार्यसमिति परिचालन गरेर कांग्रेसलाई जनताको मनमा पु¥याउने काम गरेका छन् ।
वागमती प्रदेशको प्रदेशसभामा पछिल्लो अंकगणित, यसअघि गठबन्धनको सहमतिको निरन्तरता, संसदीय अनुभव, गठबन्धनका सहयात्री दल र संसद्का विपक्षी दललाई समेत समन्वय गर्न क्षमता, जनतामा उनीप्रतिको भरोसा र विश्वासलगायत कारण बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने आवाज बनेको छ ।