के छन् मोक्तानले जित्ने आधार ?

0
163

हेटौंडा– निर्वाचनको मिति नजिकिएसँगै मतदाताले उम्मेदवारहरुको जितहारका पूर्वाअनुमान लगाउन थालेका छन् । मतदाताहरुले बिगतका मतभार, निर्वाचन क्षेत्रमा गरिएको कार्यप्रगति र समावेशीतालाई समेत आधार मानेर यस्ता आँकलनहरु गरेका हुन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–२ को (क) मा सत्तारुढ ५ दलीय गठबन्धनकी साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् मकवानपुर इञ्चार्ज कुमारी मोक्तानको सम्भावना बलियो बन्दै गएको बताइन्छ ।

थाहा नगरपालिकाकी रिता बिष्टले कुमारी मोक्तानलाई प्रदेशसभा सदस्यमा विजयी भएको घोषणा गर्नमात्र बाँकी रहेको बताइन् । उनका अनुसार भोट हाल्न आतुर भएर थाहाका मतदाता रहेका छन् । निडर नेतृ मोक्तानलाई जिताउँदा महिलाहरुको जित हुने उनको तर्क छ ।

भीफेदीकी मतदाता अप्सरा लामाले मोक्तान कसको प्रतिष्पर्धी भन्दा पनि संघीयता, धर्म निरपेक्षता र अग्रगमनको पक्षधर भएका कारण गाउँघरका मतदाताले रुचाएको बताइन् । उनको सरल र हक्की स्वभाव अनि इमान्दारिताका कारण पनि मतदाताहरु पुनःमोक्तानलाई जिताउन चाहेको लामाले जनाइन् ।

गढीकी निलम पाख्रिनले पनि मोक्तानका कारण छोरीबुहारीले उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने भएकाले पुनः मोक्तानको पक्षमा मतदान गरिने जनाइन् । उनका अनुसार मोक्तानको जित शिक्षाप्रेमी जनसमुदायको जित हो ।

‘सांसद् हुँदा गाउँगाउँको विकासमा भूमिका खेल्नुभएकी मोक्तानले मन्त्री भएपछि धेरै बजेट विनियोजन गर्नु भएकाले जनताले मोक्तानलाई नै भोट दिने मन बनाइसकेका छन्,’ स्थानीय एक नेताले भने । यसअघि १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित मोक्तानलाई जनताले यसपटक अझ बढी भोट दिने उनले बताए ।

विद्यार्थी–जनसरकार प्रमुख–मन्त्रीको यात्रा
२०३६ सालमा जन्मिएकी मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनीतिकयात्रा सुरु गरी केही समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महिला संगठनमा संगठित हुँदै पार्टी संगठनमा लागेर राजनीतिकयात्रालाई उचार्इंमा लगेकी हुन् ।

२०५६ सालमा तत्कालीन नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान २०५८ मा रिहा भएपछि २०५९ मा जिल्ला पार्टी सचिव बनिन् । २०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँंदै २०६१ मा तामाङ मुक्तिमोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुर पार्टीको तत्कालीन जनसरकार प्रमुख बनिन् ।

शान्ति सम्झौतामार्फत् २०६३ सालमा विधायिका सदस्य मनोनित भएको मोक्तान २०६४ सालमा तत्कालीन मकवानपुर–४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । २०७४ को निर्वाचनमा उनी प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् । २०७८ मा ५ दलीय गठबन्धनबाट सामाजिक विकास मन्त्रीसमेत बनिन् । हाल सामाजिक विकास मन्त्रीसँगै मोक्तान नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज छिन् । तत्कालीन जनयुद्धमा लागेकी उनले आफ्नी आमाको प्रेरणाबाट पनि राजनीतिकयात्रा तय गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here