हेटौंडा– मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मकवानपुरका उम्मेदवारहरु मत माग्न जनताको घरदैलो धाइरहेका छन् ।

कसरी आफ्नो पक्षमा मत पाइएला भन्दै जनतालाई अघिल्ला निर्वाचनमा जस्तै गरी आश्वासन बाँड्न सुरु भइसकेको छ । जहाँ जुन ठाउँमा पुग्यो, त्यहाँका समस्या जे छन्, त्यो निर्वाचनको भोलिपल्ट पूरा गरिदिन्छु भन्दै मत फकाउन उम्मेदवारहरु घरघरमा आउन थालिसकेको मतदाताले गुनासो गर्न थालेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–४, नयाँबस्तीमा चेपाङ, बनकरिया र तामाङ समुदायका गरी ३ सय ७६ घरधुरी छ । २०७४ सालको बाढीपहिरोका कारण मनहरी–४ कै चिप्लेटीबाट बिस्थापित भएका उनीहरु पर्सा राष्ट्रिय निकुञ्जको जमिनमा बास बस्न थालेको ५ वर्ष भइसकेको छ ।

जंगली भुभाग तथा लोपोन्मुख जातिको बसोबास रहेको त्यहाँ नेताहरु प्रत्येक पाँच वर्षमा मात्र पुग्ने गरेको नमिठो अनुभव छ बस्तीका मानिसको । जीवन धान्न र बालबच्चाको टाउको लुकाउन बनाइएका साना छाप्रा पनि कुन बेला निकुञ्जका कर्मचारीले भत्काइदिने हुन् भन्ने त्रासमा बाँचिरहेका उनीहरुलाई २०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन, गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा समेत लालपुर्जा दिन्छौं मत हामीलाई दिनुस् भन्दै उम्मेदवार उनीहरुलाई हात जोड्न पुगे । तर, पाँच वर्ष पहिले जिताएका उम्मेदवारको मुख देख्न नपाएको स्थानीय प्रेमबहादुर प्रजा गुनासो गर्छन् ।

उनले भने–चुनाव आयो कि यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै हामीलाई हात जोड्दै घरघरमा आइपुग्छन् । होला नि त भन्दै अगाडिका चुनावहरुमा पनि मत दिएर जिताएर पठायौं । पाँच वर्षअघि जितेका नेताहरुले बाटोमा भेटेर म फलानो ठाउँको प्रजा भन्दा ‘ए ठीक छ’ भनेर टारिदिए । फेरि चुनाव आयो ‘ओहो, बाजे मलाई भोट दिनुस् है, तपार्इंहरुलाई जसरी पनि लालपुर्जा दिएर स्थायी बसोबास गर्ने व्यवस्था गरिदिन्छौं’ भन्दै आउन सुरु भइसकेको छ ।

राजनीतिक दलहरुको झुटा आश्वासनले वाक्क भएका नयाँबस्तीका नागरिकहरुको एउटै माग आफ्नो बासस्थानको ग्यारेन्टी कसले गरिदेला भन्ने छ । हरेक निर्वाचनमा हाल मत दिएर जिताउनुस् हामी लालपुर्जा दिन्छौं भन्नेहरु आए पनि निर्वाचनपछि आफ्ना समस्या सुनिदिने कोही नभेटिएको स्थानीय सुष्मिता प्रजा बताउँछिन् ।

७ जनाको परिवारको टाउको लुकाउँदै आएको खरको सानो घर पनि आफ्ना नाममा नभएपछि त्यहाँबाट हट्नुपरे कहाँ गएर बसौंला भन्ने चिन्ताले सताइरहने गरेको उनी बताउँछिन् । अघिल्ला निर्वाचनमा लालपुर्जा पाइन्छ भन्ने आशमा भोट दिएकी उनलाई आगामी मंसिरको निर्वाचनमा भने मतदान गर्ने जाँगर छैन । कारण, उनीहरुलाई दिइएको झुटा आश्वासनले नेताप्रति सुष्मिताको विश्वास हराउँदै गएको छ । ‘छ न त मेरो परिवारमा मात्र ४ भोट छ । तर हाम्रा दुःख नदेख्ने नेताहरुलाई भोट दिएर जिताए पनि नदिए पनि हामीलाई केही गर्ने होइनन् जस्तो लागिरहेको छ,’ उनले भनिन् ।

आम्दानीको स्रोतका रुपमा ज्यालादारी र खेतीकिसानीबाट आफ्नो गुजारा गरिरहेका समुदायले लालपुर्जाका लागि पाँच वर्ष अवधिमा सरकारी निकायहरुको ढोका ढक्ढकाउन बाँकी भने राखेनन् । तर, आफूले माग्दा पनि नदिएको लालपुर्जाको झुटो भ्रम फैलाउँदै आफूहरुको मत फकाउने काम सुरु भएको भन्दै नागरिक आक्रोशित देखिएका छन् ।

३ सय भन्दा धेरै घरधुरी रहेको समुदायमा लगभग २ सय भन्दा धेरै मतदाता छन् । निर्वाचनका बेला बाँडिएका मीठा आश्वासनलाई निर्वाचनपछि तीतो बनाउने व्यवहार परिवर्तन गर्दै राजनीतिक दलहरुले आफ्ना सपना पूरा गरेजस्तै गरी मतदाताको सपनालाई पनि आश्वासनमात्र नभइ उनीहरुको उचित व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिनु जरुरी देखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here