‘मिटरब्याजी नै भ्रष्टाचार गर्दिनँ भन्दै मत मागिरहे’

0
112

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका तर्फबाट उम्मेदवार बनेका दीपकबहादुर सिंहप्रति लक्षित गर्दै लोकतान्त्रिक–बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले मिटरब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिनँ भन्दै मत मागिरहेको भन्दै आश्चर्य लागेको बताएकी छन् ।

आइतबार हेटौंडा–८ मा भएको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई रुवाउनेहरुले भ्रष्टाचार गर्दिनँ भन्नु हास्यास्पद भएको बताइन् । ‘हामी घरघरमा शिक्षा र सहकारीको अभियान लिएर सर्वसाधारणको आर्थिक अवस्था उकास्न लागिरहँदा यहाँ मिटरब्याजमा पैसा लगाउनेहरु भ्रष्टाचार गर्दिनँ भन्दै जनताको पुगिरहेका छन्,’ उनले भनिन्–नेपालको परिवर्तन एवम् लोकतन्त्र र गणतन्त्रका लागि लड्दै गर्दा बारुद बर्साउनेहरु पनि हाल हामीसँग चुनाव लड्न आइरहेका छन् । नेपाली जनताले अब सही र गलत छुट्याउने समय आएको छ ।

अर्का उम्मेदवार कमल थापाप्रति लक्षित गर्दै उनले आफ्नो पार्टीको चुनाव चिह्नमा चुनाव लड्न नसकेर अर्काको पार्टीको चिह्न लिएर केही उम्मेदवार अन्तिम पटक जिताइदिनुस् भन्दै जनताको घरआँगनमा आएको भन्दै कटाक्ष गरिन् । लोकतान्त्रिक–वाम गठबन्धनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्दै नेपाली जनताको अवस्था परिवर्तनसँगै आर्थिक उन्नतिको बाटोमा लैजाने लक्ष्य लिएको डीनाले जानकारी दिइन् । एमाले अध्यक्ष केपी शर्माओलीकै कारण मुलुक जोगाउन गठबन्धन बनेको उल्लेख गर्दै उनले फेरि पनि एमालेले जिते मुलुकको विकास सम्भव नभएको बताइन् ।

भ्रमको पछि नलागौं
गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको विषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सिर्जना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् । कार्यक्रममा उनले भने–गठबन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई भोट हाल्दैन, कांग्रेसले कांग्रेसकै उम्मेदवारलाई भोट दिँदैन भनेर चोकचौतारामा गलत हल्ला फैलाइएको पाएका छौं । यस्ता कुरामा कुनै तुक छैन । गठबन्धनबाट मकवानपुरका ६ जना नै उम्मेदवार विजयी हुनेछौंंं ।

मकवानपुरमा पटकपटक एमालेलाई जिताए पनि देखिने काम केही भएको उल्लेख गर्दैै उनले एकपटक लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे । ‘हामी एमालेलाई हराउन गठबन्धन गरेका होइनौं । हाम्रो अधिकार एवम् प्राप्त उपलब्धि रक्षा, संविधान र मुलुकलाई जोगाउन गठबन्धन गरेका हौं,’ पराजुलीले थपे–मसहित गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यायलाई समेत मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।

संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी नेतृ उम्मेदवारका रुपमा पाएको उल्लेख गर्दै उनले डीना उपाध्यायले जिते मकवानपुरले मन्त्री पाउने जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामजी नेपाल, नेकपा (एस) का हेटौंडा उपमहानगर अध्यक्ष ध्रुव भुजेललगायतले गठबन्धनको जितले मात्र मुलुकको हित हुनसक्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here