हेटौंडा–मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् ।
दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदातामाझ आफ्नो प्रभाव बढाएकी हुन् । हाल उनको पक्षमा टोल, गाउँहुँदै क्रमशः माहौल सिर्जना भइरहेको छ । विपक्षीले उनको बजारमा पकड कमजोर रहेको आरोप लगाइरहेको अवस्थामा कोर बजार एरियामै उनको पक्षमा माहौल देखिएको हो । विशेषगरि सामाजिक, सहकारी, महिला अधिकारकर्मी र युवाहरु उनको पक्षमा मत माग्न थालेका छन् ।
‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । म जनताबाट निर्वाचित भएर जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुँ,’ डीनाले सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा समाजवादी र अन्य दलको दरिलो साथ रहेका कारण आफू सहज विजयी हुने बताइन् । हाल उनी दैनिक एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएर आफ्नो मिसन र भिजन पस्किरहेकी छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चार महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपाल केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपा उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएपछि एमालेभित्र तनावको अवस्था सिर्जना भएको छ । जुन उम्मेदवारी दर्ताकै दिनमा देखिएको छ । राप्रपाका जनाधार उक्त क्षेत्रमा कमजोर छ ।
निर्वाचन क्षेत्रका स्थानीय तहमा कांग्रेस र माओवादीको उपस्थिति बलियो रहेका कारण उनलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ । घरदैलो र कार्यकर्ता भेटघाटको क्रममा डीना गाउँगाउँमा पुगेकी छन् । कार्यकर्ता तथा स्थानीयको मायाबाट हौसिएकी छन् ।
डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरेकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्री निर्वाचित भएकी हुन् । उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् ।
उक्त निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वागमती गापाको ९ वडा उक्त निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तह निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ ।
चार पालिकामै सत्तारुढ गठबन्धनको मात्र मेयर÷उपमेयर, अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । उक्त क्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य ४ गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन् । उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् ।