काठमाडा–युवानेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ । थापाले जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो ।
‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृंखलाबद्ध लेखनलाई किताबको स्वरुपमा प्रकाशन गर्न लागिएको हो,’ यात्रा पब्लिसिङ हाउस अध्यक्ष ऋषिराम अधिकारीले भने–किताबलाई उनले नै अन्तिम स्वरुप दिएका थिए । तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो । हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गर्न लागेका हौं ।
नेपालको उज्ज्वल भविष्यप्रति विश्वस्त थापाले त्यसलाई विभिन्न आयामबाट गरेको विश्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ ।
‘यो किताब उज्ज्वलको सपनाको लेख्य रुपान्तरण हो । त्यसैले उनी आफैंले यो किताबको प्रस्तुतिकरण र भाषामाथि प्रशस्त काम गरेका थिए,’ उज्ज्वल थापा फाउन्डेसन अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्–यो किताब उज्ज्वललाई व्यक्तिगत्रुपमा चिन्नमात्र होइन, उनको विचार र उनले परिकल्पना गरेको नेपाललाई समेत गहिरो गरी चिन्न मद्धत पुग्नेछ ।
किताबमा थापाले गरेका स्केचसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यङ्ग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउस प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए । उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचकरुपमा प्रस्तुत गरेका छन् ।
जसमा उनले आफूले गरेका यात्राका कथा र त्यस आधारमा गरिएको नेपाली समाजको विश्लेषणसमेत समेटिएको छ । किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रुपान्तरण गर्न हरेक नागरिकले सुरु गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा ब्याख्या गरिएको छ ।