भाद्र १६, मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने छोटो मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउने तयारीअन्तर्गत् मकवानपुरको राक्सिराङ गाउँपालिका–४, घोरकोटेस्थित गोराङ्दीखोलामा पक्की पुल निर्माण पक्का भएको छ ।
वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड बजेट व्यवस्था गरेपछि पुलको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो ।
६ करोड ८८ लाख ५२ हजार कुल लागत अनुमान गरिएको पक्की पुलका लागि प्रदेश सरकारले चालु आव २०७९÷०८० मा २५ लाख छुट्याएको थियो । तर, उक्त बजेटले पुलको बहुवर्षीय ठेक्का लगाउन रकम नपुगेपछि सोही वडाको चौकीटार–मादलसिं मोटरेबल पुलका लागि छुट्याइएको ७५ लाख पनि गोराङ्दीखोला पुलका लागि रकमान्तर गरी बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो ।
प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मनहरी–आदमघाट सडकमा ३५ करोड विनियोजन गरिएकाले चौकीटार–मादलसिं पुल पनि सोही बजेटबाट गर्ने गरी चौकीटारका लागि छुट्याइएको बजेट गोराङ्दीमा रकमान्तर गरिएको हो ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री सन्तबहादुर प्रजा र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले केही समयअघि स्थलगत् अनुगमन गरी एकै वडामा रहेका २ पुलको बजेट रकमान्तर गरी गोराङ्दीखोला पुलका काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए ।
मन्त्रीहरुको मौखिक निर्देशनपछि राक्सिराङ गाउँपालिकाले बजेट रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले पूर्वाधार विकास कार्यालय चितवनलाई रकमान्तर गरी आवश्यक कार्यका लागि पत्र पठाएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिए ।
मनहरीबाट ५२ किलोमिटरमा रहेको मनहरी–मलेखु सडकका सबै ट्रयाक पूरा भइसकेको र घोरकोटेमा पुल निर्माणपछि उक्त सडक बाह्रै महिना सञ्चालन हुनसक्ने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘मनहरी–मलेखु सडकको परेवाभीरमा पनि काम भइरहेको छ । घोरकोटेमा पनि पुल बनेपछि अब मलेखु–मनहरी सडकमा बाह्रै महिना गाडी चल्नसक्छ,’ अध्यक्ष मल्लले भने । उक्त पुलका लागि २ वर्षअघि नै गाउँपालिकाले डीपीआर गरिसकेको छ ।
गोराङ्दीमा पुल निर्माण भए कैलाश, राक्सिराङ र धादिङका बासिन्दासमेत बढी लाभान्वित हुने देखिएपछि आवश्यकताका आधारमा गोराङ्दीखोलामा पुल निर्माण अघि बढाइएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले बताए ।