भाद्र ०९, महेन्द्रकिरण माध्यमिक विद्यालयमा प्रधानाध्यापक राधालाल मण्डलले राजीनामा दिएसँगै निमित्त प्रधानाध्यापक तोकिएको छ । सोही विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत् शिव रिमाललाई निमित्त प्रधानाध्यापक तोकिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमलाल उप्रेतीले बताए ।
शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा १ जनामात्र समुत्तीर्ण भएको भन्दै अभिभावकले विद्यालयका प्रधानाध्यापकको राजीनामा माग्दै विद्यालय बन्द गरेका थिए । बढ्दो नैतिक दबाबका कारण प्रधानाध्यापक मण्डलले सोमबार राजीनामा दिएका थिए । मण्डलको राजीनामा स्वीकृत भएसँगै तत्काल विद्यालय सञ्चालनका लागि विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत् शिक्षक रिमाललाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार निमित्त प्रधानाध्यापक नियुक्त गरिएको हो ।
केही दिनयता चर्चामा रहेको मनहरी गाउँपालिका–८ स्थित ऐतिहासिक उक्त विद्यालय पालिका अध्यक्ष रञ्जन कालाखेतीको निवास रहेको वडा हो । सोही विद्यालय हो, जहाँ पढेका विद्यार्थी सांसद्, पालिका अध्यक्ष, डाक्टरसम्म भइसके । तर, विद्यालयको दुरावस्था कहिल्यै सुध्रिएन । सुधार्न प्रयत्न भएन । सुधार गर्न चाहनेलाई पनि सरोकारवालाले साथ दिएनन् ।
विद्यालयका प्रधानाध्यापक मण्डलले ‘घरायसी कारण’ राजीनामा दिएको उल्लेख भए पनि मण्डलले चर्काे दबाबमा राजीनामा दिएका हुन् । यसरी दबाब दिनेहरु थिए अभिभावक । अभिभावकको दबाबमूलक काममा साथ दिने जनप्रतिनिधि, व्यवस्थापन समिति, विद्यार्थी र अन्य सरोकारवाला थिए ।
अभिभावकले भदौ ५ गते वडा कार्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको राजीनामा गराएर शैक्षिक सुधारका लागि बाटो खोल्न लिखितरुपमा ज्ञापनपत्रमात्र बुझाएका थिएनन्, विद्यालयमा तालाबन्दी गरेका थिए । भदौ ५ र ६ गते विद्यालय सुचारु हुन सकेन भने ७ गते नेपाल बन्दका कारण विद्यालय अवरुद्ध रह्यो । भदौ ६ गते दिउँसो पालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर, वडाध्यक्ष नारायण उप्रेती, वडा सदस्य रामचन्द्र सुबेदीसहितको सहभागितामा प्रधानाध्यापक मण्डलले राजीनामा गरे ।