भाद्र ५, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो साधारणसभा तथा अधिवेशन हेटौंडामा भएको छ । अधिवेशन उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले हेटौंडाबाट सबैले धेरै काम सिक्ने गरी काम गर्न आग्रह गरिन् । प्रत्येक टोल विकास संस्थालाई कार्ययोजना बनाएर काम गर्न उनले आग्रह गरिन् । हेटौंडालाई एक नम्बरको नगर बनाउन टोल विकास संस्थाका प्रत्येक सदस्य सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा हेटौंडा उपमहानगर उपमेयर राजेश बानियाँले हेटौंडाका वडासँगै टोलटोलमा विकास गर्ने अभियानमा आफूहरु लागिपरेको बताए । कार्यक्रममा हेटौंडा–११ अध्यक्ष जुना दाहाल, हेटौंडा–१ अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–४ अध्यक्ष नवीन सिग्देल, टोल विकास संस्था नगर समन्वय समिति निवर्तमान अध्यक्ष ईश्वर ढुंगाना, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष प्रताप बिष्ट, टोल विकास संस्था नगरसमन्वय समिति महासचिव शिवहरी दाहाल, कोषाध्यक्ष चन्द्रावती पनेरु अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थियो ।
टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । उनले नगरपालिका हुँदा १ सय ८१ रहेका टोल विकास संस्था हाल ३ सय ४९ रहेको उनले जानकारी गराएका छन् । हालसम्म १७ वटा वडामा वडा समन्वय समिति गठन भएको र वडा– १६ र १७ मा वडा समन्वय समिति गठन हुन बाँकी रहेको र गठन हुन तयारी अवस्थामा रहेको जानकारी गराइएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत् समुदायको आर्थिक, भौतिक र सामाजिक विकासमा स्थानीय सरोकारवालाको सहभागिता अभिवृद्धि गर्ने उद्धेश्यले सञ्चालित गाउँनगर साझेदारी विकास कार्यक्रमअन्तर्गत् २०५७ सालदेखि घरधुरी संगठनको नामबाट सुरु भइ स्थानीयरुपमा उपलब्ध श्रम, सिप र साधन तथा अवसरलाई अधिकतम् परिचालन गरी आफ्नो टोल÷समुदायको विकासका लागि सामूहिक प्रयत्न अघि बढाउन, जनसहभागिताका माध्यमबाट समतामूलक समावेशी र वातावरणमैत्री दीगो विकास हासिल गर्न, सामुदायिक भावना विकास, पारस्पारिकता, सद्भाव विकास गर्दै बचत संकलन र परिचालनबाट स्वावलम्बन सिर्जना गर्दै नगर क्षेत्रको गरिबी न्यूनीकरणमा टेवा दिन र हेटौंडा उपमहानगरपालिकाले अंगीकार गरेको स्वच्छ, सिर्जनशील, सम्वृद्ध औद्योगिक नगरको दुरदृष्टिका माध्यमबाट मानवीयताको शहर निर्माण अभियानमा टोल, समुदाय तहबाट योगदान गर्न तथा टोलका जनसमुदायलाई संस्थागत्रुपमा विकास गर्ने वातावरण सिर्जना गर्न नगरमा टोल विकास संस्था स्थापना गरी सञ्चालन भइरहेको छ ।
गाउँनगर साझेदारी विकास कार्यक्रमअन्तर्गत् गठित टोल विकास संस्था नगरपालिकामा हस्तान्तरण भएसँगै नगरपालिकाद्वारा स्वीकृत कार्यविधि तथा विधानबमोजिम नगरबासीका आधारभुत तहसम्म आआफ्नो भौगोलिक सीमासम्म उपलब्ध साधन र स्रोतको अधिकतम् परिचालन गरी सदस्यको आर्थिक सम्वृद्धि, समुदाय परिचालन, भौतिक निर्माण र जनचेतना अभिवृद्धि हुने विभिन्न गतिविधि सञ्चालन भइरहेको र यसले सामाजिक विकास, समुदाय परिचालन, उद्यमशीलता, आयआर्जनका साथै नगरपालिकाको टोलस्तरीय योजना छनौट र सञ्चालनमा बिगतदेखि निर्वाह गर्दै आएको भूमिकालाई मध्यनजर राखी टोल विकास संस्थालाई संगठित, जनउत्तरदायी र जिम्मेवार तथा सक्षम नेतृत्वसहित एकीकृत संस्थाका विकास गर्न वडास्तरमा वडा समन्वय समिति तथा नगरमा नगर समन्वय समिति गठन भइ कार्यसम्पादन भरहेको अध्यक्ष अधिकारीले बताएका छन् ।