भाद्र ५, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, बसामाडीमा पाँच युवा मिलेर व्यावसायिकरुपमा बाख्रा फार्म सञ्चालन गरेका छन् । सिमलथली एग्रो प्रालि कम्पनी दर्ता गरेर हेटौंडाको मुख्य बजार क्षेत्रनजिक बाख्रा फार्म सञ्चालन गरिएको हो । फार्ममा हालसम्म ९ करोड लगानी भइसकेको छ ।
फार्मका सञ्चालकमध्ये दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–१ घर भइ हाल बसामाडी सिमल्थली बस्दै आएका ३४ वर्षीय राजु अधिकारी पनि एक हुन् । उनले मलेसिया र कतारमा कठिन श्रम गरेर ९ वर्ष बिताए । उनले विदेशबाट फर्किएपछि नेपाली भूमिमै केही गर्नुपर्छ भन्ने भावनाले साथीहरुसँग मिलेर बाख्रा फार्म सञ्चालन गरेका हुन् ।
विदेशी भूमिमा हण्डर र ठक्कर खाँदै ९ वर्ष बिताउँदा कमाएको रकम अधिकारीले फार्ममा लगानी गरी आम्दानी लिन थालेका छन् । उनी आफैं सञ्चालक र कामदार पनि हुन् । काम गर्दैमा सानो भइन्छ भन्ने सोच नराखी विहानदेखि बेलुकासम्म बाख्रा फार्ममा काम गर्दै आएका छन् उनी ।
शुरुमा सिमलथली उन्नत बाख्रा फार्मबाट दुई जनाको लगानीमा सुरु फार्म हाल सिमलथली एग्रो प्रालि बनाइएको छ । २०७० सालमा सुरु फार्ममा हाल पाँच जनाको लगानी छ । मकवानपुरकै उत्कृष्ट र ठूलो लगानी भएको फार्ममध्ये यो एक हो । हेटौंडाका गोबिन्द सुबेदी र सीताराम अधिकारीले सुरु गरेको बाख्रा फार्ममा सञ्चालकसँगै संरचना र घाँसखेती गरिएको जग्गाको क्षेत्रफल पनि थपिएको छ ।
कम्पनीको नाममा रहेको ४५ कठ्ठा जग्गामा आधुनिक शैलीको खोरसहित विभिन्न संरचना निर्माण गरिएका छन् । साढे ५ बिगाहा क्षेत्रफल जग्गाभाडामा लिएर घाँसखेती गरिएको छ । काठमाडौं दक्षिणकाली–८ घर भएका पवन आचार्य बाख्रापालनका क्षेत्रमा नमूनाढंगले काम गर्न लगानी गरेर हेटौंडामा बसेका छन् ।
१५ कठ्ठा क्षेत्रफलमा फैलिएको बाख्रा फार्ममा विदेशबाट फर्किएका युवाले लगानी गरेका छन् । कामका लागि पनि विदेशमा बसेर फर्किएका युवालाई बढी प्राथमिकता दिइएको छ । रोजगारीका लागि परिवार छाडेर विदेशिएका युवालाई यसले पनि निकै टेवा पु¥याएको छ । विदेशबाट फर्किए पनि स्वदेशमा रोजगारी पाएकोमा युवाहरु खुशी छन् ।
बाख्रा फार्मका बिभिन्न खोरमा सानादेखि ठूलासम्म ४ सय ५० बाख्रा छन् । कुल लगानीमा साढे चार करोड एभरेष्ट बैकबाट ऋण लिइएको छ । खोरमा ब्रोयर जातका २१ वटा ठूला बिउ बोका छन् । २ सय वटा माउ बाख्रा छन् । अरु बयस्क पाठापाठी छन् । यसलाई व्यवस्थित बनाउन लागिएको लगानीकर्ता सीताराम अधिकारी बताउँछन् ।
रहर लाग्ने गरी ब्रोयर जातका बाख्रापालन गरेको हेर्न बिभिन्न जिल्लाबाट फार्ममा आउने गरेका छन् । फार्मसँगै खेतका गह्रामा देखिने घाँसखेती पनि निकै रहरलाग्दो छ । बाख्रालाई आवश्यक सबै घाँस यहाँबाट नै काट्ने गरिएको छ । फार्मबाट १८ युवाले रोजगारीसमेत पाएका छन् । बाख्रा फार्मबाट देशभरका स्थानीय सरकार, बिभिन्न सरकारी, गैरसरकारी संघसंस्थाले बाख्रा, ब्रोयर जातका बोका खरिद गरेर लैजाने गरेका छन् ।
फार्मले ६६ वटा जिल्लामा बिउका रुपमा ब्रोयर जातका बोका पु¥याइएको छ । बाख्रापालनमा नमूना फार्म भएकै कारण वागमती प्रदेश सरकारले फार्म सञ्चालकलाई उत्कृष्ट किसानका रुपमा पुरस्कृतसमेत गरेको छ । फार्मबाट मकवानपुरका २१ समूहका लागि १५ वटा बिउ बोकाबितरण भएको छ । बाख्रामा नश्लसुधारका लागि उत्पादित पाठापाठीको बजारीकरणसमेत गरिएको छ । हालसम्म बाख्रा पाल्न ४ सय घरका १ हजार २ सय जनालाई तालिम दिइएको छ ।