साउन ३०, हेटौंडा–सरकारले मिटर ब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिन पीडितमा आह्वान गरेको छ ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले सूचना जारी गरी भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न आग्रह गरेको हो ।
‘मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ,’ कार्यदल संयोजक डा भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ । मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिकरुपले अप्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृंखलाले सयौं परिवारको बिचल्ली भएको समाचार सार्वजनिक भइरहेका छन् ।
त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याइ कारबाही गर्ने प्रक्रिया चलिरहेको गृह मन्त्रालयले जनाएको छ । धेरै पीडित आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसक्ने अवस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ ।
गृह मन्त्रालयले मन्त्रालयका सहसचिव डा. भुसालको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभाग उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदल सदस्यसचिवमा ब्युरो प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत् भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर–निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी छ ।
हेटौंडाकी सन्तोषी थिङ निराश देखिन्छिन् । उनका आँखा जहिल्यै रसाउने गर्दछन् । आफूले निकै विश्वास गर्नुभएकी एक ‘बाबा’ को ठगीमा परेकी उनी आत्महत्या गर्ने अवस्थामा पुगेको बताउँछिन् ।
२०७४ सालमा थिङ जापान जाने तयारीमा थिइन् । उनलाई पैसाको अभाव भयो । चिनेकै एक व्यक्तिले उनलाई मिटर ब्याजमा पैसा पाइने कुरा सुनाए । त्यसपछि उनले २० लाख लिइन् । थिङले २० लाख ऋण लिएको भए पनि सम्झौतापत्रमा भने ३० लाख उल्लेख गरिएको थियो । आफूले लिएको भन्दा १० लाख बढी किन उल्लेख गरेको भनेर सोध्दा पीडकले आफ्नो कागजी ‘फम्र्याट’ मात्र त्यस्तो भएको भन्दै समस्या नपार्ने विश्वास दिलाए ।
‘मलाई २० लाख दिएर ३० लाखको सम्झौतापत्रमा हस्ताक्षर गर्दै उहाँले आफ्नो कागजमात्र यस्तो भएको भन्नुभयो,’ उनले भनिन्–मलाई २० लाख भन्दा बढी तिर्नु नपर्ने आश्वासन दिनुभएको थियो । तर, हाल ३० लाख दिनुपर्ने भन्दै अदालतमा मुद्धा हाल्नुभएको छ ।
जोगीको भेषमा हिँड्ने हेटौंडा–५ का दिनेश केसी (दिनेश बाबा) ले दिनहुँ आफूलाई मानसिक तनाव दिने गरेको उनको भनाइ छ । यही कारण पतिसँगको सम्बन्ध पनि बिग्रिएको उनको गुनासो छ ।
उनीमात्र होइन, अनोज परियारले दैनिक २ हजार तिर्ने गरी ५ लाख ऋण लिएका थिए । उनले ऋण लिएको ८ दिनमा नै ५ लाख १६ हजार बुझाए । आफ्नो पसलमा दिनहुँ जोगीको भेषमा आएर परिवारका सदस्य जस्तै गरी बस्नेसँग ऋण लिँदा उनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ५ लाख ऋण दिएर १० लाखको सम्झौतापत्रमा हस्ताक्षर गराइएको थियो ।
सम्झौतापत्रले पछि समस्या नपर्ने र आफूलाई ५ लाखमात्र दिए हुने भन्दै हस्ताक्षर गराएका ‘बाबा’ ले परियारसँग नक्सा बनाइदिन्छु भन्दै जग्गाको लालपुर्जा पनि लगे । लालपुर्जा फिर्ता गर्नुको साटो उनले जग्गा नै हत्याउने प्रयास गरेको परियारको आरोप छ । ऋण लिएको ८ दिनमा फिर्ता गरे पनि पैसा नदिएको भन्दै सम्झौतापत्रलाई प्रमाण बनाएर ‘बाबा’ ले परियारसँग १० लाख माग गर्दै अदालतमा मुद्धा हाले ।
हेटौंडामा मिटर ब्याजमा पैसा लगाएर अवैध असुली गरिएको खुलासा भएको हो । पत्रकार सम्मेलन गरी पीडितहरुले आफूहरुको बाध्यताको फाइदा उठाउँदै मिटर ब्याजमा पैसा लगाउनेले नियोजितरुपमा फसाउन खोजेको बताए ।
अर्का पीडित ललन साहले आफूले ऋण चुक्ता गर्दासमेत केसीले अदालतमा मुद्धा हालेर दुःख दिएको उल्लेख गरे । भारतका ४९ वर्षीय साह हेटौंडा बस्न थालेको ३१ वर्ष भयो । उनी ठेलामा मौसमी तरकारी तथा फलफूल बिक्री गर्छन् । दैनिक ठेला गुडाएर जीवनयापन गर्दै आएका उनी पछिल्लो केही महिनायता अदालतको चक्कर काटिरहेका छन् । २०७४ सालमा बुबा बिरामी हुँदा ऋण लिएको ८० हजार रुपियाँका कारण उनीले पछिल्लो समय अदालत धाइरहनुपरेको हो ।
घरपरिवार र बालबच्चा हुर्काउन भारतमा केही काम नपाएपछि हेटौंडालाई कर्मथलो बनाएका उनका बुबा २०७४ सालमा बिरामी परेका थिए । बुबाको उपचार गर्ने पैसा नभएपछि छट्पटाइरहेका उनी पनि चिनजानका व्यक्तिमार्फत् केसीको सम्पर्कमा पुगे । बुबाको उपचार गर्न साहले केसीसँग दैनिक ४ सय तिर्ने गरी ८० हजार ऋण लिए । २ सय ५० दिनसम्म दैनिक ४ सय गरी १ लाख रुपियाँ केसीलाई दिने लिखित सम्झौता गर्दै साहले पैसा लिएका थिए । ऋण लिएको भोलिपल्टदेखि नै केसी साहको ठेलामा दैनिक पैसा उठाउन आउन थाले । साहले पनि दिनभर कमाएको पैसाबाट केसीलाई ४ सय बुझाए ।
दैनिक पैसा बुझाउँदा डायरीमा मिति र रकम लेख्दै उनको हस्ताक्षर पनि लिने गरे । २ सय ५० दिनमा केसीलाई उनले ऋण चुक्ता गरे पनि केसीले ऋण लिँदा सम्झौता गरेको कागज पूरै रकम तिरिसक्दा पनि दिएनन् । साहले पैसा तिरिसकेपछि सम्झौतापत्र फिर्ता गर्न भन्दा केसीले आफूले उक्त सम्झौतापत्र च्यातेर फालिसकेको भन्दै साहलाई कुनै समस्या नपार्ने आश्वासन दिए ।
‘तर, मैले पैसा तिरेन भन्दै उहाँले मुद्धा हाल्नुभएछ । उहाँले मलाई पैसा लिँदाको सम्झौतापत्र पनि दिनुभएन । हाल त्यही कागज देखाएर उहाँले अदालतमा मुद्धा दिनुभएको छ,’ उनले भने ।
दिनेश बाबा भने यो आरोप मान्न तयार छैनन् । पैसा लिएर नतिर्ने बहानामा आफूलाई आरोप लगाइएको उनको दाबी छ । ‘म धार्मिक मान्छे हुँ,’ उनले भने–पैसा लिएर नतिर्नेहरुले झुटो आरोप लगाएका हुन् ।