साउन २७, हेटौंडा–मकवानपुरको मनहरी गाउँपालिका–४, ट्वांग्राका ८९ वर्षीय गंगाबहादुर खड्का जनैपूर्णिमाका लागि जनै बनाउने काममा लगभग १० दिन अलमलिए । आजका लागि उनले जनै तयारी गरेका हुन् ।
हेटौंडा बजारबाट जनै बनाउने धागो किनेर घरमा आफैंले जनै बनाएर तयारी गरेका गंगाबहादुरको घाँटीमा हालसम्म उद्योगमा बनेका जनै परेकै छैनन् । उनको व्रतबन्ध गरेदेखि हजुरबुबा र बुबाले बनाएका जनै लगाउँदै आएका खड्का हाल पनि आफंै बनाएर आफ्ना ज्वाईं र छोरानातिहरुलाई लगाइदिने गरेका छन् ।
केही वर्षअघिसम्म उनले बनाएका जनै गाउँका केही मानिसले किनेर लैजाने गर्दथे । आफ्ना घरका लागि ५०÷६० जोर जनै बनाएर अलिअलि छिमेकीका लागि बाँड्ने गरेका थिए खड्काले । तर, पछिल्लो समय उद्योगले उत्पादन गरेर बनाएको रेडिमेड जनैले बजार ढाकेपछि गाउँमा बुढापाकाको हातले मेहनत गरेर बनाइएका जनैको महत्व घटेको खड्का बताउँछन् ।
‘मैलै जनै लगाउन थालेदेखि कहिल्यै किनेको जनै लगाएको छैन । काँचो धागो किनेर ल्याएर आफंै बनाउँछु । आफू पनि त्यही लगाउँछु । छोरानातिहरुले पनि घरमै बनाएको जनै लगाउँछन्,’ उनले भने । तर, किनेको जनै भन्दा बनाएको जनै राम्रो र लामो हुने भए पनि महंगो पर्नजाने उनी बताउँछन् । फाइदाका लागि नभए पनि आत्मसन्तुष्टिका लागि आफंैले जनै बनाउने गरेको बताउँदै खड्काले भने–धागोकै पाउको ३ सयदेखि ३ सय ५० सम्म पर्छ । एक पाउ धागोले ६० देखि ६५ वटामात्र जनै बन्छ । बजारमा ४ रुपियाँको एउटा जनै पाइन्छ भन्दै थियो मेरो छोराले । फाइदा त धागो किन्नुको साटो रेडिमेट जनै किन्नुमै रहेछ । तर, आफ्नो ज्यान छउञ्जेल र हातगोडा चलुञ्जेल आ बनाउँछु भनेर हो ।
बीस वर्षदेखि निरन्तर जनै बनाउँदै आएका गंगाबहादुरले जनै बनाउन भने उनका बुबा जुद्धबहादुरले सिकाएका थिए । ‘उबेला किन्ने चलन हुन्नथ्यो । वाह्मणले ल्याउँथे । अनि, त्यहीअनुसार दक्षिणा दिएर किनिन्थ्यो । कि त आफैंले यसरी बनाएर लगाउने चलन थियो । आउनेले बनाएर बनाउन नआउनेलाई पनि दिन्थे । तर, अब बनाउने भन्दा बनिराखेकै किन्नेको जमात बढेको छ । मेरो बुबाबाट मैले जानेको भएर हालसम्म म बनाएर लगाउने गर्छु । मेरा छोरानातिलाई बनाउन आउँदैन । मेरा शेखपछि यिनले पनि किनेरै त लाउलान् नि,’ उनले थपे ।
हराउँदै परम्परा
पहिले हातले बनाइएका जनैमात्र लगाउने चलन थियो । जसअनुसार घरका सबै पुरुष धागोबाट जनै बनाउन जान्दथे । तर, पछिल्लो समय हातले बनाइएका जनैको महत्व हराउँदै गएको छ । बुढापाकाले बनाए लगाउने, नत्र बजारमा बेच्न राखिएका जनैले नै परम्परा धान्ने चलन भित्रिएपछि जनै बनाउने परम्परा मासिँदै गएको छ ।
हेटौंडा–१, लालझाडीका ५१ वर्षीया हरिप्रसाद सञ्जेल पनि हरेक वर्ष जनैपूर्णिमाका लागि आफंै जनै बनाउँदै आएका थिए । तर, यस पटक उनको शारीरिक अवस्थ्यताका कारण सधैं जसरी जनै बनाउन सकेनन् । जनै बनाउन नसकेपछि उनका छोराले यस वर्षको जनैपूर्णिमाका लागि बजारको रेडिमेड जनैकै जोहो गरेका छन् ।
आफूले जाने पनि आफ्ना सन्तानले सिक्न नचाहेका कारण घरमै आफ्नो नापोमा बनाइएको जनै लगाउन नपाइएकोे बताउँदै उनले भने–यस्ता कुराहरुमा नयाँ पुस्ताको ध्यान छैन । छिटो र सस्तो हुने भएपछि पोहोरदेखि नै रेडिमेड ल्याउन भनिरहेका थिए । तर, म आफंैले बनाउने भएका कारण यस भन्दा अघि कहिल्यै किनेका थिएनौं । अबका मान्छेहरुले लगाउन त छाडिसके, बनाउन त झन् के आउँथ्यो र । पैसा भए सबै बजारमै पाइन्छ । परम्परा धान्ने चलन बिस्तारै हराउँदै गइसक्यो ।
जनैपूर्णिमाको महत्व
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरा) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन विहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा स्नान गरेर गुरुपुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरुपुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानवरक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षावन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै व्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । यसै दिन व्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन विहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गर्दछन् ।