साउन २५, हेटौंडा–हेटौडा–४ र हेटौडा–५ जोड्ने भैरवरोडबीच सडक मिलन चोकनजिक अव्यवस्थितरुपमा तार लत्रिरहेको छ । टाढैबाट लत्रिएको तार देखियोस् भनेर तारमा सेतो प्लाष्टकिको बोरा झुण्डाइएको छ ।
‘लत्रिएका तारका कारण सडकमा कुनै पनि बेला दुर्घटना घट्नसक्ने अवस्था छ । जसका कारण मानवीय क्षति नपुग्ला भन्न सकिन्न । वडा कार्यालय, स्थानीय, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, विभिन्न इन्टरनेट कम्पनी वा विभिन्न टेलिभिजन प्रसारक कम्पनी छन् । यसको जिम्मेवारी कसले लिनुपर्ला ?’ सामाजिक सञ्जालमा स्थानीयको प्रश्न छ ।
हेटौंडा बजारको बिजुलीको पोलमा लट्टा परेको कपालजस्तै तारको लठ्ठा प्रसस्त देखिन्छ । अब पोलमा तारको लठ्ठामात्र होइन, पोलको तार लत्रिन सुरु भएको छ । अव्यवस्थित तारका कारण उपमहानगरमा जोखिम बढे पनि समाधानतर्फ सरोकारवाला निकायको चासो पुगेको देखिन्न । तार व्यवस्थापनमा ध्यान नपु¥याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्न सडक प्रयोगकर्ता बाध्य रहेको हेटौंडाका युवा व्यवसायी विकेशलाल श्रेष्ठ बताउँछन् । उनले भने–लत्रिएको तारका कारण सडकमा कुनै बेला दुर्घटना घट्नसक्ने अवस्था छ । जसका कारण मानवीय क्षति नपुग्ला भन्न सकिन्न । उनले वडा कार्यालय, स्थानीय, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, विभिन्न इन्टरनेट कम्पनी वा विभिन्न टेलिभिजन प्रसारक कम्पनीले जिम्मेवारी लिनुपर्ने दाबी गरे ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले भाडाको विषयमा विवादका कारण आफूहरु केही गर्न नमिल्ने बताए । प्रमुख श्रेष्ठ तार व्यवस्थापन शहरको सुन्दरतासँग जोडिएकाले उपमहानगरले हेर्नुपर्ने भन्दै पन्छिए । हेटौंडालाई सफा र सुन्दर बनाउन साँघुरो सडकको किनार र डिभाइडरमा फूल रोपिएका त छन् सडक किनारका बिजुली पोलमा टाँगिएका अव्यवस्थित टेलिफोन, इन्टरनेट, बिजुलीलगायतका तार व्यवस्थापनमा ध्यान दिइएको छैन ।
हेटौंडामा धेरै कुरा भद्रगोल छन्, जसले बजारको सौन्दर्य कुरुप बनाएको छ । बजारलाई कुरुप बनाइरहेका धेरै कुरामध्ये एक हो जथाभावी टाँगिएका तार । जतासुकै लत्रिएका र गुजुल्टिएका तारले हेटौंडालाई कुरुप बनाइरहेको छ । कुरुपमात्र होइन, दुर्घटनाको जोखिम पनि बढाइरहेको छ । कथाहरुमा वर्णन गरिएका शिवजीका जटाझैं बेरिएका तारका गुजुल्टाले हेटौंडा ‘तारटौंडा’ बनेको छ ।
मन्दिरका गजुर, बजारमा रहेका अशोकको रुखहरुमा मात्र होइन घरकै भित्ता र झ्यालढोका पनि तारले ढाकिएका वा छेकिएका छन् । रंगरोगन लगाएर चिटिक्क पारिएका घरलाई पनि तारले गिज्याइरहेजस्तो देखिन्छ । कतै टेलिफोनका, त कतै इन्टरनेट र केवल टिभी प्रदायकका तार । माकुराको जालोजस्तै हुँदा पनि यसको व्यवस्थापन गर्न कसैले चासो देखाएको पाइँदैन ।
बिजुलीका खम्बा अव्यवस्थित हँुदा र बीच सडकमा तार जडानका कारण दुर्घटनाको जोखिम बढिरहेको देखिन्छ । उपभोक्ताको केको तार कुन हो भनेर ठम्याउनसमेत धौधौ पर्ने गरी तानिएका खुला र गञ्जागोल तारमा अल्झेर चरा त मर्ने गरेका छन् नै, मर्मत गर्न जाने कर्मचारीलाई पनि जोखिम हुने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडाले चोरीको लाइन कुन हो भनी थाहा पाउने अवस्था नभएको बताएको छ । ‘पोल त हाम्रै हो, तर पनि हामी केही गर्न सक्दैनौं,’ उनीहरु पन्छिन्छन् । विद्युत् प्राधिरकण र टेलिकमसँग अनुमति नलिइ उनीहरुको पोलमा विभिन्न दुरसञ्चार सेवाप्रदायकले आफ्ना तार र उपकरण झुण्डाउने गरेका छन् । शहरी क्षेत्रमा तार अन्डरग्राउन्ड गर्न सकिए हाल कुरुप भएको शहरको सौन्दर्य प्रवद्र्धनमा पनि योगदान पुग्नेछ । सँगै हाल तार जलेर हुने गरेका दुर्घटनामा पनि कमी आउनेछ ।
हेटौंडामा तार व्यवस्थापन काम अपरिहार्य भएको छ । पोलहरुले भारभन्दा बढी तार र दुरसञ्चार उपकरणको भार थेगेर बसेका छन् । जथाभावी तार टाँग्दा दुर्घटनाको जोखिम बढेको छ । टेलिकम र इन्टरनेटका केवल टेलिभिजनका तार पनि समस्याका रुपमा छन् । इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर्स एवम् सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवाप्रवाह गरिरहेका छन् । २०७१ सालमै सरकारको तार हटाउन गरेको प्रयास असफल भएको थियो । त्यसपछि पनि पटक÷पटकको प्रयासमा सेवाप्रदायकले बेवास्ता गरेका छन् । एउटा निकायले अर्कोसँग समन्वय नगरी तार तान्ने, भएकै तारलाई पनि व्यवस्थित नगर्ने, तारको अन्डरग्राउन्ड प्रयोग नभएकालगायत कारण हेटौंडाको सौन्दर्य बिग्रिएको छ ।
केवल अपरेटर्स र इन्टरनेट सेवाप्रदायकका आफ्ना पोल छैनन् । टेलिकमले एउटै तारबाट ७२ वटासम्मलाई सेवा दिनसक्ने अवस्था छ । कम्पनीसँग सहकार्य गर्ने र नयाँ पूर्वाधार कम्पनीलाई नै तार पनि भूमिगत गर्ने जिम्मा दिए समस्या ५० प्रतिशत् समाधान हुने दाबी छ ।