साउन,२३ हेटौंडा–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा ३ जनाले उम्मेद्वारी दिने चर्चा चलेको छ । एमालेका तर्फबाट वर्तमान सांसद् कृष्णप्रसाद दाहाल, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल र एमाले जिल्ला सचिवालय सदस्य मदनकुमार दाहालले उम्मेद्वार बन्ने चर्चा चलेको हो ।

एमालेबाट पाका नेता र युवा नेताहरुले उम्मेद्वारी दिने चर्चा चलेसँगै गठवन्धनका तर्फबाट उम्मेद्वार बन्न लागेकाहरु पनि तरंगित भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेका नेताहरु टिकट लिन दौडधुप गर्न थालेका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका दाहाल, एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका खुलाल र हेटौंडाका अधिवक्तासमेत रहेका दाहालले प्रतिनिधिसभामा चुनाब लड्ने मनसाय बनाएका छन् ।

चुनाबको मिति तोकिएसँगै नेकपा एमालेले आफ्ना पार्टीका गतिविधि पनि त्यतिकै बढाएको छ । मकवानपुरमा २ निर्वाचन क्षेत्र रहेकाले पार्टीमा वर्षौंदेखि काम गरिरहेका पाका नेताहरु र युवा पुस्ता उत्तिकै जोसिएर लागेका छन् ।

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ मा पटकपटक चुनाब जितेका कृष्णप्रसाद दाहाल संघीय अर्थ समितिको सभापतिसमेत हुन् । उनी यस पटक पनि आफू विजयी हुने दाबीसाथ चुनाबी मैदानमा उत्रन लागेका छ । उक्त क्षेत्रको वडा र टोलटोलसम्म पुगेका दाहाल गठवन्धनबाट जो चुनाब लड्न आए पनि आफू लड्न तयार रहेको र पराजित गर्ने मनसायमा छन् ।

जिल्ला समन्वय समिति प्रमुख भएर मकवानपुरको हेटौंडा र पूर्वी क्षेत्रमा राम्रो अनुभवसमेत रहेको र पार्टीले टिकट दिए प्रतिनिधिसभामा नै चुनाब लड्ने तयारीमा खुलाल छन् । चुनाब लड्न पार्टीले विश्वास गरेर टिकट दिए आफंैले जितेर छाड्ने मनासयसाथ उनी अगाडि बढेका छन् । पार्टीमा जिल्ला नेतृत्व गरिसकेका र जनतामाझ निरन्तर काम गरिरहेकाले फेरि जनभावनाअनुसार काम गर्ने तयारीसाथ चुनाब लड्ने सोच खुलालले राखेका छन् ।

एमाले जिल्ला सचिवालय सदस्यसमेत रहेका अधिवक्ता दाहाल देशभरजस्तै मकवानपुरका नागरिकले पनि परिवर्तन चाहेको र युवा उम्मेद्वारको माग बढेकाले उम्मेद्वारी दिने मनसाय बनाए ।

आमनागरिकले परिवर्तन चाहने अनि पार्टीले उम्मेद्वार संधै पुराना अनुहारलाई मात्र बनाउने परिपार्टी अन्त्य गर्नुपर्ने भन्दै क्षेत्र–१ बाट प्रतिनिधिसभा उम्मेद्वार बन्ने तयारीसाथ चुनाबी अभियानमा छन् । आमनागरिकले युवा उम्मेद्वारमा आश र भरोसा पनि राख्न थालेका छन् । नेकपा एमाले पार्टीले विश्वास गरेर टिकट दिए चुनाब लड्न दाहाल तयारी अवस्थामा रछन् । वर्षौंदेखि वकालत पेशामा रहेका दाहाल नेकपा एमाले मकवानपुर सचिवालय सदस्यका रुपमा तेस्रो कार्यकालमा रहेर काम गर्दै छन् । पार्टीले विश्वास गरेर टिकट दिए जनतामाझ भिजन र योजना लगेर मन जितेर मत प्राप्त गर्ने सोचमा उनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here