साउन २१, हेटौंडा–चुनावको मिति तय भएपछि मकवानपुर–२ मा सत्तारुढ गठवन्धनका तर्फबाट निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उम्मेद्वारी दिने तयारी गरेका छन् ।
केन्द्रीयस्तरमा सत्तारुढ गठवन्धनबीच भएको सहमतिअनुसार प्रत्यक्ष निर्वाचनमा जुन दलले विजयी भएको छ, त्यही दललाई दिने सहमतिअनुसार पनि खतिवडाले पाउने देखिन्छ । एकीकृत समाजवादीका केन्द्रीय नेता खतिवडाले क्षेत्र नम्बर–२ मा आफूले प्रत्यक्षरुपमा चुनाब लड्न पाउनुपर्ने माग राखेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सांसद्समेत रहेका खतिवडासँगै गठवन्धनका तर्फबाट रामनारायण बिडारी र कांग्रेस नेता इन्द्रबहादुर बानियाँको चर्चा चलेको छ । सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेसँगै चुनावी तयारीमा दलहरु लागिपरेका छन् । क्षेत्र नम्बर–२ मा चुनाव लड्ने तयारीसाथ खतिवडा पार्टीका जिल्लास्तरीय कार्यक्रममा सक्रिय भएका छन् ।
क्षेत्र नम्बर–२ का बिभिन्न स्थानीय तहमा चुनावी कार्यक्रम तय गरेर उनी हिँडेका छन् । कैलाश गाउँपालिकाको नामटारमा चुनावी कार्यक्रम तय भएको छ भने मनहरी, भीमफेदीलगायत पालिकामा चुनावलक्षित कार्यक्रमलाई जोड दिइएको उनले बताए ।
निर्वाचनको मिति घोषणासँगै मकवानपुरबाट उम्मेद्वार बन्नेहरुको चर्चा सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन मिति तय गरेसँगै यहाँ उम्मेद्वारको चर्चा सुरु भएको हो ।
मकवानपुरको क्षेत्र नम्बर–१ मा चारजना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको हो । निर्वाचनमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, एमालेका तर्फबाट कृष्णप्रसाद दाहाल, राप्रपा नेपालका तर्फबाट कमल थापा र राप्रपाका दीपकबहादुर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दुई प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरको क्षेत्र–२ मा एकीकृत समाजवादीका खतिवडा र एमाओवादीका रामनारायण बिडारीले उम्मेद्वारी दिने तयारी गरेका छन् ।