साउन २१, हेटौंडा–करिब ३ घण्टा समय लिएर ब्रेकफाष्ट खाँदै नदीसयर गर्न चाहनेलाई नेपालमा पहिलोपटक ब्रेकफाष्टको मज्जा अनि अपराह्न खानासहित रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनर गराउने सपनासहित सञ्चालनको तयारी गरिएको पहिलो क्रुजसिप नदीकिनारमा बन्दीझैं बाँधेर राखिएको छ ।
पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाटसम्मको यात्रा पूरा गर्न नारायणी नदीमा सञ्चालन गर्ने उद्धेश्यले बनाइएको क्रुजसिप (सानो पानीजहाज) अलपत्र अवस्थामा रहेको हो ।
करिब २ वर्षअघि सञ्चालनमा आउने भनिएको पानीजहाज हाल बेवारिस बनेको छ । नदीकिनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बोराले छोपछाप पारिएको छ भने जहाजभित्र माकुराको जालो लागेको छ ।
सरकारले पानी जहाजसम्बन्धि उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै जहाज निर्माण सुरु भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसिप निर्माणक सकिएको थियो । २०७६ फागुनदेखि अनलाइन टिकट बुकिङ सुरु गर्ने बताइएको थियो । नदीमा परीक्षण सफल भएको जहाज नियमित सञ्चालनमा नआउँदै बेवारिस बन्न पुगेको हो ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमार्फत् भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलले जहाज निर्माण गरेको थियो । क्रुजमा २ इञ्जिन छन् । लामो समयदेखि इञ्जिन चलेको छैन । निर्माणका लागि १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।
पानी जहाजको वरपर झाडीले ढाकेको छ । बनिरहेका भौतिक संरचना प्रायः अपूरा छन् भने बनिसकेका संरचना बेवारिस छन् । एक सुरक्षा गार्डको निगरानी छ । ज्ञानेश्वर सामुदायिक बनसँगै नारायणी नदीछेऊमा जहाज चल्ने तयारीसँगै वरपर होटल खुल्ने क्रम बढेको थियो । त्यसबेला भविष्य सुरक्षित देखेर जमिन किन्नेको होडबाजी चलेको थियो ।
निर्माण सम्पन्न भइ परीक्षणसमेत सफल भएको जहाज सञ्चालनमा आउन नसक्नुको कारण राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले औपचारिकरुपमा बताउन सकेको छैन । कोरोना कहरका कारण सञ्चालनमा ल्याउन नसकेको बताए पनि पछिल्लो समयमा अलपत्र पर्नुको कारण खुलाइएको छैन ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना कहरका कारण जहाज नदीमा सञ्चालनमा ल्याउन नसकेको बताएका थिए । कोरोनापछि सरकारले ठूला सार्वजानिक कार्यक्रम खुला गरेको एक महिनाभित्रमा नदीमा क्रुजलाई सञ्चालन गरिने जानकारी दिएको २ वर्ष पुग्दा पनि जहाज सञ्चालनमा आएन ।
दुई तलामा बसेर नदीको सयर गर्दै रमणीय भ्रमण अवलोकन गर्न सकिने क्रुज हेर्दा दुरुस्तै पानीजहाज जस्तो देखिन्छ । भित्र रेष्टुराँ र सांगीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक हल, सेल्फी खिच्ने ठाउँ, चालकदलको ककपिटलगायत छन् । जहाजभित्र रहेका सबै संरचनामा धुलो र माकुराको जालो लागेको छ ।
निर्माण क्रममा भएको कारोबारको भुक्तानी माग्न आउनेको भिडमात्र होइन, भुक्तानी नपाएकाले आफ्ना सामान धामधाम लैजान थालेका छन् । कानुन बन्यो, संरचना तयार भयो, परीक्षण सफल भयो, जनशक्ति तयार रह्यो, टिकट खुला गर्ने जानकारी दिएपछि जहाज अलपत्र भएपछि सबैले चासो देखाएका छन् ।
प्रवन्ध निर्देशक कँडेलका अनुसार क्रुजसिप निर्माण पूरा भइसकेको छ । तर, कोरोनाको त्रासका कारण नदीकिनारमै जहाज थन्काउन बाध्य हुनुपरेको छ । उनले दैनिक १८ घण्टासम्म काम गरेर निर्माण सकिए पनि क्रुजसिप सञ्चालन गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले रंगरोगन, टेबलकुर्सी, प्रकाशको समुचित व्यवस्थापन र सिसा जडानलगायत कार्य पूरा भएर सञ्चालनको तयारी गरिएको अवस्थामा कोरोना कहरले समस्यामा पारेको बताए । प्रवन्ध निर्देशक कँडेलका अनुसार क्रुज अढाई तले छ । क्रुजको माथिल्लो भागको स्वरुपमा निकै राम्रो परिवर्तन गरी अझ आकर्षक बनाइएको छ । पानीजहाज निर्माणका लागि स्वरुपमा परिवर्तन गर्दा पनि करिब १५ करोड खर्च भएको उनले बताए ।
नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए । भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेजियन प्रविधिमा पानीजहाज निर्माण गरिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्ड्डुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुरलगायत देशमा सफलतापूर्वक काम गरिसकेको छ ।
क्रुजसिप सञ्चालनपश्चात् नेपालको जल यातायातको सम्भाव्यतामा प्राविधिक आधार तयार हुनेछ । एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भएको क्रुज १ सय फिट लम्बाई र २५ फिट चौंडाईंको छ ।
तीन सिफ्टमा क्रुज सञ्चालनको तयारी गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा दिनेछ । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज गराउने तयारी छ । प्रत्येक क्रुजिङ करिब ३ घण्टाको हुनेछ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाटसम्मको यात्रा पूरा गर्न उक्त समय व्यतित हुनेछ ।
रिभर क्रुजले नारायणी किनारलाई सधंै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ । क्रुज र सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीसाथ क्रुज निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक कँडेलले बताए । क्रुजसिप सञ्चालनका लागि आवश्यक क्र्यु मेम्बर र प्राविधिक विदेशी थिए । दीर्घकालिनरुपमा नेपाली जनशक्ति उत्पादनका लागि तालिम केन्द्र सञ्चालन गर्ने योजनामा कम्पनी छ ।
चितवन घुम्न जाने पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकनपछि नारायणीमा पानीजहाजको पनि मज्जा लिनसकुन् भन्ने उद्धेश्य रहेको कँडेलले बताए । नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो । पानीजहाजले ज्ञानेश्वर सामुदायिक बनदेखि देवघाट–गोेलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ ।