हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्करुपमा रगत उपलब्ध गराउने भएको छ । साउन १ देखि लागु हुने उक्त निर्णय २०८० असारसम्म लागु हुनेछ ।
जिल्ला रेडक्रस सोसाइटी मकवानपुरसँगको सहकार्यमा उपमहानगरले बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने सहमाति बनेको हो । मान्यताप्राप्त अस्पतालमा उपचाररत् हेटौंडाको बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यकतानुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने सहमति भएको मेयर मीना लामाले जानकारी दिइन् ।
बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै आव २०७९÷०८० का लागि वार्षिक बिनियोजन बजेट शीर्षक ‘निःशुल्क रक्तसेवा’ कार्यक्रमबाट निःशुल्क रगत उपलब्ध गराउन दुवै पक्ष सहमत भएर करार गरिएको लामाले बताइन् ।
रकम भुक्तानीका लागि रेडक्रसले दिइएको सेवाको प्रतिवेदन त्रैमासिकरुपमा उपलब्ध गराउनुपर्नेछ । साथमा नागरिकता÷जन्मदर्ताको प्रतिलिपि वा कार्यालयको सिफारिसपत्र र स्वास्थ्य संस्थाले प्रदान गरेको रगत आवश्यक छ भनी गरिएको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्नेछ । सम्झौतामा लेखिएका कुराहरुको हकमा सम्झौताबमोजिम र नलेखिएका कुराहरुको हकमा प्रचलित कानुनबमोजिम हुनेछ ।
मेयर लामाका अनुसार उक्त सेवा उपलब्ध गराएबापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ । प्रतियुनिट ८ सय ५० रुपियाँका दरले रगतबापत् रकम प्रत्येक त्रैमासमा उपमहानगरले रेडक्रसलाई उपलब्ध गराउने मेयर लामाले बताइन् । आवश्यकताका आधार उपमहानगरभित्र कुनै घटनामा उपचाररत् बिरामीलाई समेत रगत निःशुल्क उपलब्ध गराउने सकिने उनले बताइन् ।