साउन १९, हेटौंडा–वागमती प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । वर्षैपिच्छे सडक दुर्घटनाको संख्यामा बृद्धि भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशका उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाहेक १० जिल्लामा १ हजार ७ सय ९८ सडक दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटना भएको थियो । यस तथ्यांकलाई तुलना गर्दा पनि वागमती प्रदेशमा सडक दुर्घटनाको ग्राफ सालैपच्छिे बढ्दै गएको पाइएको छ । सडक दुर्घटनाबाट प्रदेशका १० जिल्लामा ४ सय १३ जनाको मृत्यु भएको छ । जसमा ३ सय २६ पुरुष, ६२ महिला, १८ बालक र ७ बालिका छन् ।
सडक दुर्घटनामा १ हजार १२ जना गम्भीर घाइते भएका छन् । जसमध्ये ७ सय ३४ पुरुष, १ सय ८६ महिला र ९२ बालबालिका छन् भने २ हजार ९ सय ८३ साधारण घाइते भएका छन् । जसमध्ये १ हजार ९ सय ५६ पुरुष, ७ सय ५० महिला र २ सय ७७ बालबालिका दुर्घटनामा परेर सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक छ ।
कच्ची सडक र बढ्दो सवारी चापका कारण सडक दुर्घटनाको ग्राफ निरन्तर बढ्दै गएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रहरी प्रवक्ता दीपक रेग्मीले बताए । उनका अनुसार सवारीसाधनको संख्या बढेको र सडकको स्तरोन्नति नभएका कारण सडक दुर्घटनाको जोखिम बढेहेको छ ।
कुन जिल्लामा कति ?
उपत्यकाबाहेक जिल्लामध्ये सबभन्दा धेरै सडक दुर्घटना चितवनमा भएको छ । गत आर्थिक वर्षमा ७ सय १३ सडक दुर्घटनाको घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चितवनमा सडक दुर्घटनाबाट १ सय ३९ जनाको मृत्यु भएको छ । जसमा १ सय ६ पुरुष, २१ महिला र १२ बालबालिकाको मृत्यु भएको तथ्यांक छ ।
गम्भीर घाइतेको संख्या २ सय ५४ रहेकोमा १ सय ८० पुरुष, ४९ महिला, २५ बालबालिका छन् । साधारण घाइतेको संख्या ७ सय १३ रहेकोमा ४ सय ७१ पुरुष, १ सय ८४ महिला, ५८ बालबालिका सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुरमा एक वर्ष अवधिमा ५ सय ७७ सडक दुर्घटना हुँदा ७० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ६३ पुरुष, ५ महिला र २ बालबालिकाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष १ सय ५०, महिला २० र बालबालिका ११ गरी १ सय ८१ जना सडक दुर्घटनामा गम्भीर घाइते भए । ५ सय ७७ साधारण घाइते भएकोमा पुरुष ३ सय ९२, महिला १ सय २५ र ६० बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सिन्धुलीमा एक वर्ष अवधिमा २ सय ९१ सडक दुर्घटना हुँदा ४४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ३८ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष १ सय २०, महिला २१ र बालबालिका १२ गरी १ सय ५३ जना सडक दुर्घटनामा गम्भीर घाइते भए । ३ सय ९० साधारण घाइते भएकोमा पुरुष २ सय ७९, महिला ८२ र २९ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
रामेछापमा ३२ सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । जसमा १४ पुरुष, ८ महिलाको मृत्यु भएको तथ्यांक छ । गम्भीर घाइतेको संख्या १९ रहेकोमा १३ पुरुष, २ महिला र ४ बालक छन् । साधारण घाइते हुनेको संख्या ७४ रहेकोमा ५० पुरुष, १९ महिला, ५ बालबालिका सामान्य घाइते भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशको दोलखामा एक वर्ष अवधिमा ४० सडक दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ५ पुरुषको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष २३ जना, महिला १३ र बालिका २ गरी ३८ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । ३६ जना साधारण घाइते भएकोमा पुरुष ३०, महिला ५ र २ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
काभ्रेमा १ सय ५१ सडक दुर्घटना हुँदा ४२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा ३१ जना पुरुष, ६ महिला र ५ बालबालिको मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष ५२ जना, महिला १७ जना र बालबालिका ८ गरी ७७ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । २ सय ३७ जना साधारण घाइते भएकोमा १ सय ४५ पुरुष, महिला ७५ र १७ बालबालिका सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सिन्धुपाल्चोकमा ६७ सडक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १४ पुरुष, ५ महिला र १ बालककोे मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष २७, महिला ११ र बालबालिका ३ गरी ३८ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । २ सय ४३ जना साधारण घाइते भएकोमा पुरुष १ सय २०, महिला ८३ र ४० बालबालिका साधारण घाइते भएका छन् ।
नुवाकोटमा ८२ सडक दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १० पुरुष, ३ महिला र १ बालिकाकोे मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष ३५, महिला १४ र बालबालिका ४ गरी ५३ जना सडक दुर्घटनामा गम्भीर घाइते भए । २ सय २९ साधारण घाइते भएकोमा पुरुष १ सय ३६, महिला ६७ र २६ बालबालिका रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
धादिङमा २ सय ७२ सडक दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका छन् । जसमा ४३ पुरुष, ९ महिला र १ बालिकाकोे मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष १ सय २८, महिला ३७ र बालबालिका २१ गरी १ सय ८६ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । ४ सय ७७ जना साधारण घाइते भएकोमा पुरुष ३ सय ३०, महिला १ सय ९ र ३८ बालबालिका साधारण घाइते भएको तथ्यांक छ ।
रसुवामा १३ सडक दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा २ पुरुष, १ महिला र १ बालिकाकोे मृत्यु भएको छ । गम्भीर घाइते हुनेमा पुरुष ६, महिला २ र बालबालिका २ गरी १० जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । ६ जना साधारण घाइते भएकोमा पुरुष ३, महिला १ र २ बालबालिका साधारण घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ७ सय ९८ दुर्घटनामा ३ सय ६५ वटा सवारीसाधन दुर्घटना सम्बन्धि मुद्धा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चितवनमा भएका ५ सय ३२ वटा दुर्घटनामा १ सय २५ वटा सवारीसाधन सम्बन्धि मुद्धा दर्ता गरिएको छ । मकवानपुरमा भएका ३ सय १८ वटा दुर्घटनामा ६५ वटा मुद्धा दर्ता भएको छ भने सिन्धुलीमा भएका २ सय ९१ दुर्घटनामा ४५ वटा मुद्धा दर्ता भएको छ ।
रामेछापमा भएका ३२ दुर्घटनामा ७ वटा, दोलखामा भएका ४० वटा दुर्घटनामा ६ वटा, काभ्रेमा भएका १ सय ५१ दुर्घटनामा ४० वटा, सिन्धुपाल्चोकमा भएका ६७ दुर्घटनामा १६ वटा, नुवाकोटमा भएका ८२ दुर्घटनामा १३ वटा, धादिङमा भएका २ सय ७२ दुर्घटनामा ४५ वटा र रसुवामा भएका १३ दुर्घटनामा ३ वटा मुद्धा दर्ता भएको कार्यालयको तथ्यांक छ ।