साउन १८, हेटौंडा–मकवानपुरमा पछिल्लो समय डेंगुको संक्रमण फैलँदै गएको छ । दुई साता अवधिमा दुई दर्जन भन्दा धेरैमा डेंगु देखिएको हो । चालु आर्थिक वर्षको साउन १ गतेदेखि १५ गतेसम्म २८ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रोग देखापरेको घिमिरेले बताए ।
उनले भने–अन्य स्थानीय तहमा खासै संक्रमित भेटिएका छैनन् । एक÷दुई स्थानीय तहका एक÷दुई जनामा डेंगु भेटिएको छ । १५ दिन अवधिमा यति धेरै डेंगु संक्रमित हुुनु भनेको सतर्कता अपनाउनु जरुरी छ भन्ने हो,’ सूचना अधिकारी घिमिरेका अनुसार संक्रमितहरु हेटौंडाको वडा नम्बर–४ र ५ का छन् । उनीहरुको उपचार भरहेको छ ।
उनका अनुसार सोही अवधिमा जिल्लामा १ जनामा कालाजार भएको छ भने हेटौंडाका ९ जनामा स्क्रबटाइफसको संक्रमण भएको छ । जिल्लाको मनहरी गाउँपालिकाका ६ नम्बर वडामा १ जनामा कालाजार संक्रमण भएको हो । आर्थिक वर्षको सुरुवातमा डेंगु संक्रमितको संख्या बढ्न थालेपछि आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा चालु आर्थिक वर्षमा बिरामी संख्या बढ्नसक्ने स्वास्थ्यविज्ञहरु बताउँछन् । गत आर्थिक वर्षमा १ सय ९५ जनामा डेंगु संक्रमण भएको थियो । स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले बताए ।
लक्षण
सामान्यतया डेंगु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत् मानिसमा रोगको लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणमात्र देखिन्छ । संक्रमितमध्ये ५ प्रतिशत् मानिसमा गम्भीर प्रकारको डेंग्ु लाग्नेगर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेंगुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेंगु वा अन्य लक्षण देखापर्ने सम्भावना हुँदैन ।
प्रायः बालबालिकामा डेंगुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएजस्तै लक्षण देखिने गर्दछन् । बालबालिकाहरुमा बिभिन्न जटिलताहरु देखापर्ने जोखिम पनि तुलनात्मकरुपमा बढी हुन्छ । सुरुवातमा यसका अन्य लक्षण मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्दछ । डेंगु पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् ।
सतर्कता
डेंगु सार्ने लामखुट्टेले पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानीजम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्युबवेललगायत स्थानमा फुल पार्दछ । अधिकांश लामखुट्टेले दिउँसो टोक्ने गर्दछन् । तसर्थ, लामो बाहुला भएका कपडा लगाउने, दिउँसो सुत्दा पनि झुलभित्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विड प्रयोग गर्नुपर्दछ ।
कसरी बच्ने ?
डेंगु ज्वरोविरुद्ध हालसम्म कुनै खोप विकस नभएकाले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबभन्दा उत्तम विकल्प हो । यसको टोकाइबाट बच्न घर, आँगन, घरआसपास पानी जम्ने भाँडाहरु सफा गर्नुपर्दछ । घरवरिपरि सकेसम्म पानी जम्न दिनुहँुदैन । आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाइ गर्नुपर्ने स्वास्थ्यविज्ञहरु बताउँछन् ।