साउन १८, हेटौंड–पहिरोका कारण बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड बल्ल खुलेको छ । सडक बन्द हुँदा सडकखण्डमा गाडीको लामो लाइन बनेको थियो । रातिदेखि रोकिएका यात्रुहरु भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य भए ।
नौबीसे–मुग्लिन सडकखण्डमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले उक्त सडक हुँदै चल्ने गाडीलाई विहानदेखि नाका–नाकामा रोकिएको छ । काठमाडौंदेखि छुट्ने गाडी नागढुंगा, थानकोट, कलंकीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पहिरो नहटेसम्म उक्त सडकखण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ । पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।
भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर–६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताए ।
आइतबारदेखिको वर्षाले हेटौंडा वडा नम्बर–६ र ७ जोड्ने बाटो अवरुद्ध भएको छ । वर्षाले हेटौंडा–७, हरियालीनजिकको खहरेमा बाटो बिगारेको हो । बाटो क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ । बाटो अवरुद्ध भएपछि हेटौंडाबाट रामनगर, सल्लाघारी जाने म्याजिक हरियालीमै रोकिएका छन् ।
वर्षाले बाटो क्षति गर्दा मोटरसाइकलमात्र चल्ने अवस्था रहेको स्थानीयले बताएका छन् । ‘पानी परेपछि वर्षेनी बाटो बिग्रन्छ, हरेक वर्ष समस्या दोहोरिरहँदा पनि स्थायी समाधानतर्फ सम्बन्धित निकायको ध्यान जाँदैन,’ बालजागृति युवावर्ष माध्यमिक विद्यालयकी शिक्षक सुजया सुबेदीले बताइन् ।
बाटो अवरुद्ध हुँदा हेटौंडा–६ को रामनगर, माथिल्लो हात्तीलेट, गौरीटारका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । खहरेको उचित व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त भेगका स्थानीयले वर्षेनी सास्ती खेप्दै आएका छन् । केही वर्षअघि उक्त खहरेमा आएको बाढीले एउटा ट्रक र एउटा जिप पल्टाएको थियो ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । वाणगंगा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र पत्नी लक्ष्मी सुनार बेपत्ता भएका छन् । नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो । खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् ।
अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
वर्षा भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसीबी पठाइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने उनको भनाइ छ । पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिकासहित मेलम्ची नगरपालिकाको वडा–९ र १० मा आवातजावतमा समस्या भएको छ ।
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए । ‘सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्र खोलिएको थियो,’ उनले भने–नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो । गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार हाल नारायणीमा पानीको सतह ७ दशमलव १ मिटर छ । नारायणीमा पानीको सतह ७ दशमलव ३ मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतराको तहका रुपमा लिइन्छ । नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदीतटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् ।
नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उनले हाल नारायणीमा पानीको बहाब सामान्य रहेको जानकारी दिए । नवलपुरको गैंडाकोटसहित ५ वटा स्थानीय तह नारायणीको जोखिममा छन् ।
त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिचाईंका लागि पानी लैजाने गरेको छ । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत् बिहार र उत्तर प्रदेशमा सिचाईं गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन् । गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
नारायणगढको पोखरा बसपार्कनजिक सडकमा रुख ढल्दा यातायात अवरुद्ध भएको सडक तीन घण्टापछि खुलेको छ । दिउँसो रुख ढलेर आँपटारीमा करिब १२.५० भएको बाटो अवरोध रुख काटेर पन्छाइ ३.५० बजे सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।