साउन १७, हेटौंडा–राज्यको रकम खर्च गरी संरचना बनाउने, पछि विभिन्न कारण देखाउँदै भत्काउने । यस्तो गतिविधि हेटौंडा उपमनगरपालिकाभित्र देख्न पाइन्छ । दोस्रो जनआन्दोलनमा शहादत प्राप्त मकवानपुरका शहीद वासुदेव घिमिरेको नाममा निर्माण गरिएको सभागृह भत्काएको हेटौंडा उपमहानगरपालिकाले फेरि आफैंले बनाएको स्ल्याब पनि भत्काएको छ ।
हेटौंडा उपमहानगरपालिकाले वडा–५ स्थित रंगपथअन्तर्गत् करिब एक सय मिटर भन्दा बढी स्ल्याब गरिएको सडक भत्काइएको छ । रंगपथ कान्तिलोकपथअन्तर्गत् पिप्लेबाट भैरवरोड जोडिने सडक हो । उपमहानगरपालिकाले आफ्नो ६० प्रतिशत् र स्थानीयको ४० प्रतिशत् लगानीमा बनाएको सडकको स्ल्याब अदालतको आदेश भन्दै भत्काएको हो । सडकको स्ल्याब भत्काएपछि रंगपथको कल्भर्टबाट पिप्लेतर्फ करिब दुई महिनादेखि सडक अलपत्र अवस्थामा छ ।
किन भत्काइयो स्ल्याब ?
स्थानीयका अनुसार २०५९ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको ६० र स्थानीयबाट ४० प्रतिशत् लगानीमा सडक स्ल्याब गरिएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा चार मिटरको सडक ६ मिटर बनाउने भन्दै वडा कार्यालयले बजेट विनियोजन गरेको थियो । स्थानीय चुनावअगावै निर्माणसम्पन्न गर्ने गरी काम अगाडि बढाएको थियो ।
निर्माणको क्रममा स्थानीय देखामाया मानन्धरले आफ्नो मञ्जुरीबेगर नम्बरी जग्गामा सडक स्ल्याब ढलान गरिएको हटाउन माग गर्दै अदालतमा मुद्धा दिएपछि सडक निर्माण रोकिएको थियो । उनले २०७८ फागुन ५ गते जिल्ला अदातल मकवानपुरमा हेटौंडा उपमहानगरपालिका मेयर÷उपमेयर, ५ नम्बर वडा कार्यालय, वडाअध्यक्ष, रंगपथ सडक निर्माण उपभोक्ता समिति, समिति अध्यक्ष र ठेकेदारलाई विपक्षी बनाएर मुद्धा दायर गरेकी थिइन् ।
मुद्धाउपर हेटौंडा उपमहानगरपालिकाले फागुन ११ गते पहिलो बहसमा लिखित जवाफसहित अदालतमा उपस्थित भएको थियो । पहिलो बहसमा मुद्धाको छिनोफानो नभएपछि चैत ९ गतेको दोस्रो बहस भएको थियो । उक्त बहसमा उपमहानगरले मानन्धरको मुद्धाविरुद्ध यथेष्ट प्रमाण पु¥याउन सकेन । अदालतले मानन्धरको पक्षमा मुद्धाको फैसला ग¥यो ।
अदालतले निवेदक देखामायाको निजी नम्बरी जग्गा उनको मञ्जुरीबेगर बाटो निर्माण नगर्न÷नगराउन र उनको नम्बरी जग्गामा निर्माण गरिएको स्ल्याब ढलान हटाउन आदेश दिएको थियो । अदातलको आदेशअनुसार हेटौंडा उपमहानगरपालिकाले मानन्धरको नम्बरी जग्गामा निर्माण भएको करिब एक सय मिटर भन्दा बढी स्ल्याब ढलान सडक भत्काएको हो ।
नगरपालिकाको लापरबाही
बाटो निर्माण गर्नुपूर्व मञ्जुरीनामा, वडाको सिफारिस, प्राविधिक स्टिमेट, नगरपालिकाका इञ्जिनियरले नापजाँच गर्दछन् । तर, उक्त सडक स्ल्याब ढलान मञ्जुरीनामा, वडाको सिफारिस, प्राविधिकद्वारा नापजाँच नगरी हचुवाको भरमा बनाउँदा भत्काउनुपरेको हो । सडकको हेटौंडा उपमहानगरपालिकासँग कुनै अभिलेख नरहेको शहरी पूर्वाधार विकास शाखा प्रमुख सत्यनारायण शाहले प्रष्ट पारे । ‘यो धेरै पहिलेको पुरानो बाटो हो । मलाई जहाँसम्म लाग्छ, डोरमणि पौडेल (मेयर) सरको पालामा निर्माण भएको सडक हो,’ उनले भने–यसबारे हामीसँग केही छैन ।
मुद्धा छिनोफानो, विवाद कायम
सडक निर्माणको क्रममा परेको मुद्धाको छिनोफानो भए पनि विवाद भने सकिएको छैन । हाल चार मिटर रहेको सडकलाई ६ मिटर बनाउने विषयमा विवाद भइरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मानन्धर पक्षले नगरपालिकाका प्रविधिकका अनुसार नभइ आफूले ल्याएको निजी क्षेत्रका प्राविधिकको नापअनुसार सडक निर्माण हुने भनेपछि विवाद देखिएको हो । सडक चौंडा बढाउन सडकको नक्साको बीचबाट दुवैतर्फ बराबर भाग लिइन्छ । यो नियम देशभर लागु हुन्छ ।
काम गर्न समस्या समाधान
पूर्वाधार विकास शाखा प्रमुख शाहले सडक निर्माणमा भएको विवाद समाधान गर्न जनप्रतिनिधिले स्थानीयसँग छलफल गर्नुपर्ने बताए । उनले विवाद समाधन भए आफूहरुले मापदण्डअनुसार सडक निर्माण गर्ने बताए ।
निर्माणका लागि सहमति
सडक निर्माणको विषयमा भएको विवाद मिलेको वडा अध्यक्ष सुशील घिमिरेले बताए । ‘पहिले विवाद थियो, हाल समाधान भइसकेको छ,’ उनले भने–अब केही दिनमै सडक निर्माण सुरु गर्छौं । भत्काइएको स्ल्याब ढलान सडकको विषयमा तत्कालीन नेतृत्व, कर्मचारी, उपभोक्ता समितिलगायतले ध्यान नपु¥याउँदा नोक्सानी बेहोर्नु परेको उनले बताए ।
कति भयो नोक्सानी ?
हेटौंडा उपहानगरपालिका आफैले भत्काएको सडक कति भत्कियो उपमहानगरलाई थाहा छैन । उपमहानगरको प्राविधिकसँग बुझ्दा केकति भत्कियो भन्ने आधिकारिक विवरण दिन सकेनन् । एक सार्वसाधारणले अनुमान लगाउने हो भने सडक करिब १ सय २० देखि १ सय ५० मिटरको स्ल्याब उप्काएर फालिएको देखिन्छ । प्राविधिक स्टिमेटअनुसार १ सय २० मिटर लम्बाइ, उचार्इं ८ इञ्च र चौडाईं चार मिटर स्ल्याब ढलानको खर्च करिब १० लाख हुन आउँछ । १५० मिटर स्ल्याब ढलानको खर्च करिब १२ लाख हुन आउँछ ।