साउन १७, हेटौंडा–श्रावण शुक्ल पञ्चमीका दिन आज प्रत्येक वर्ष मनाइने नागपञ्चमी मनाइँदै छ । परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्बीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नागपूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग व्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै देवतालाई नागका रुपमा मान्ने गरिएको हो ।
प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एकहातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसंग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शीरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ, जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकाले किसानको घरमा गएर पत्नी र २ छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारेर मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिन् ।
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
गुरु गोरखनाथले ९ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखेर गोरखनाथ उठेपछि नागमुक्त भएर पानी वर्षाएको प्रसंग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शीरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र संगीत नागलाई खुब मनपर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षाको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।
नागका बाह्र नाम भएपनि आठ कुलका ८ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । नागलाई आजको दिन व्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारि खनजोत नगर्ने र नाग, सर्पलगायता घस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
आज देशभरका नागदह, कुण्ड, र नागस्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।