साउन १६, हेटौंडा–सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाले डिजिटल साक्षरता र उहिलेको पत्रकारितासम्बन्धि २ वटा पुस्तकहरु एकैसाथ विमोचन गरेको छ । दुवै पुस्तकको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले विमोचन गरेका हुन् ।
पुस्तकको विमोचन गर्दै खनालले डिजिटल साक्षरताले अब हामी कता जाँदैछौ भन्ने देखाएको र उहिलेको पत्रकारिता पुस्तकले बिगतमा भएको पत्रकारिताको बारेमा झझल्को दिएको बताए । अहिलेको समयमा हामी सबै प्रविधिसंग जोडिनु पर्नेमा उनले जोड थियो । दुइवटा पुस्तक एकैपटक विमोचन हुँदा मन्त्रालयको साखसमेत बढेको मन्त्री खनालले बताए ।
प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले डिजिटल साक्षरता र उहिलेको पत्रकारिता पुस्तकका बारेमा चर्चा गरेका थिए । दुवै पुस्तक पत्रकारहरुका लागि अति उपयोगी रहेको सापकोटाले जानकारी गराए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब नारायणप्रसाद शर्माले दुइ वटा पुस्तकबाट धेरै कुरा लिन र सिक्न सकिने बताए । पुस्तकमा पहिले कसरी पत्रकारिता गरिन्थ्यो भन्ने विषयमा भैरव रिसाल, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार, लालध्वज देसा राई र रामकृष्ण रेग्मीको अनुभवहरुको संलागो हो ।
पत्रकारितामा अज्रजहरुको भोगाई, उहाँहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षका कथाहरु पुस्तकमा समेटिएको छ । प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । उहाँहरुको दृष्टिकोणमा अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढन पाइनेछ । ‘उहिलेको पत्रकारितामा समेटिएका जेष्ठ पत्रकारका ज्ञान, सीप र अनुभवहरु नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुने जनाइएको छ ।
पहिलेको पत्रकारिताका विषयमा झल्काउने कोशिस गर्नु भएको छ । डिजिटल साक्षरतासम्वन्धि पुस्तकमा के हो डिजिटल ?, डिजिटलका डिभाइसहरु, कम्प्युटर नेटवर्किङ, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, मोडेम राउटर र स्वीच, थ्रिजी, फोरजी र फाइवजी विषयहरुलाई समावेश गरिएको छ ।
पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इञ्जिन, सामाजिक सञ्जाल, भिओडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा बिस्कृत जानकारीहरु उपलब्ध छन् । भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स आइओटी, आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ ।
पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानून, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ ।