साउन १६ गते, हेटौंडा–‘असार १५ दही–चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही–चिउरा, क्वाँटी खाएजस्तै गरी हरेक साउन १५ मा खीर पकाइ आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिकमात्र नभएर वैज्ञानिक महत्व पनि ठूलो छ । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषिमा आश्रित भएकोले कृषकले धान रोपेर काम सकेपछि खुशीयालीस्वरुप खीर खाने परम्परा विकास भएको हेटौंडाका संस्कृतिविद् रामचन्द्र आचार्य बताउँछन् ।

साउन महिना वर्षात् समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोगप्रतिरोधात्मक क्षमता हुने भएकाले पनि योखाने प्रचलन बसेको बुझ्न सकिन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बच्न खीर खाने गरेको पाइन्छ ।
नेपालमा मात्र होइन, भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीले साउने संक्रान्तिमा खीर खाने गर्दछन् । हिन्दु धर्मावलम्बका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछामासु नखाएर शिवभक्तले भगवान् शिवको पूजा गर्ने गर्दछन् ।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसका कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकार, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफुल र मसला पनि खाने गरिन्छ ।
सनातन वैदिक सभ्यताअनुसार पुजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाइ खाने चलन छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन रहेको जानकार बताउँछन् ।
आज खीर भए पनि विगत २ वर्षदेखि साउन १५ गते मकवानपुरमा कोदो दिवस मनाइँदै आएको छ । यस पटकको कोदो दिवस मकवानपुरको भीमफेदीमा मनाइने भएको हो । लोप हुन लागेको कोदोको संरक्षण गर्ने उद्धेश्यले दिवस मनाउन लागिएको हो ।