साउन १३, हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाबासी बेलाबेलामा बाघको आतंकबाट प्रताडित हुने गरेका छन् । मनहरी गाउँपालिकाको ७ नम्बरको बगर क्षेत्र र रमौली गाउँका आसपासका मध्यवर्ती क्षेत्रमा बाघले घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको छ ।
केही समयअघि बाघको आक्रमणबाट स्थानीय ईश्वर राईको भैंसी, अर्का एक किसानको गाई र बाख्रा मारेको थियो । दिनदहाडै बाघले पशुचौपाया मार्न थालेपछि स्थानीय आतंकित बन्ने गरेका छन् । मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट बच्न ड्यामसाइडमा हुने गरेको मर्निङवाक रोक्न अनुरोध गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशन गरी जंगली जनावरको आक्रमणबाट बच्न उक्त क्षेत्रमा मर्निङवाकमा नजान आग्रह गरेको छ । पशुचौपाया पनि घरमै बाँधेर पाल्न अनुरोध गरिएको छ ।
दुई वर्षअघि सोही जंगलमा मनहरी–७ कै एक महिलालाई बाघले मारेको थियो । राप्ती नदीकिनारमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीय २ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । केही दिनअघि ३१ वर्षीया आमा सरु अधिकारी र १६ वर्षीया छोरी सम्झनालाई मनहरी–७ को रमौलीमा आक्रमण गरी घाइते बनाएकोमा उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा पालिकाको सहयोगमा निःशुल्क उपचार जारी छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको एक जंगली हात्तीले मनहरी–५, बस्तीपुरको जञ्जरा बस्तीका करिब एक दर्जन घरमा क्षति पु¥याएको थियो । जंगली हात्तीले दुःख दिएपछि स्थानीय त्रसित छन् । हरेक वर्ष पर्सा राष्ट्रिय निकुञ्जबाट राप्तीखोला तरेर बाघलगायत बन्यजन्तु महेन्द्र राजमार्ग छेऊमा रहेको मध्यवर्ती क्षेत्रका बस्तीमा आउने गरेका छन् । केही दिनअघि बाघले गोठमै आएर २ वटा गाईलाई लगेको अध्यक्ष कालाखेतीले बताए । उनले स्थानीयलाई बाघको आक्रमणबाट जोगाउन करिब ८ फिट अग्लो वाल लगाउनेबारे सोचिएको तर उक्त कार्यका लागि सरकारी सहयोगको अपेक्षा गरिएको बताए ।
‘एक बाघलाई सातामा झण्डै ५० किलो आहारा चाहिन्छ । आहाराका लागि बाघ बस्तीतिर आउने गरेका छन्,’ मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती भन्छन्–बाघको बासस्थान संरक्षणका लागि पालिकाले विशेष ध्यान दिनेछ । उनले बाघको ठूलो चुनौतीका रुपमा रहेको बाघ र मानिसबीच द्वन्द्व घटाउने काम गरिने र बाघको छाला तथा हाडलाई कालोबजारी गर्ने गिरोहलाई निस्तेज गरी त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउन पालिका तयार रहेको दाबी गरे ।
‘स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्छ । तर, सुरक्षित व्यवस्थापन नभएकाले मानिसको ज्यानको खतरा पनि सँगै उत्पन्न हुँदै आएको छ,’ स्थानीयलाई बाघले दिएको दुःख स्मरण गर्दै उनले भने ।
नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्यांक छ ।
बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रम गरिए पनि बाघको संख्या दिनानुदिन कम हुँदै गएको छ । त्यसपछि बाघका बासस्थान भएका मुलुक एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरे मात्र संरक्षण गर्न सकिने खाका बन्यो । सँगै बाघ संरक्षणका महत्वाकांक्षी लक्ष्य र योजनासहित काम गर्ने भएका छन् । बाघका बासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । सबै मुलुकले चाहँदा यो असम्भव छैन ।
सन् २०२२ सम्ममा १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सके विश्वका लागि यो अनुकरणीय उदाहरण हुनजान्छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । सफलताको केही बाटो पछ्याउन सुरु गरिसकेकाले पनि दुर्लभ जन्तु बाघका संरक्षण र भविष्यबारे आशावादी हुने ठाउ प्रशस्त छन् ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्धेश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’ का रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघमञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थल संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्धा उठानका साथै बाघ संरक्षणमा भएका प्रयासको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
कुनै समय जताततै पाइने बाघ पाइन्थ्यो । संरक्षण अभाव र बस्ती बिस्तारसँगै लोपोन्मुख प्राणीको सूचीमा बाघ पुगेको तथ्य हामी सबैलाई थाहै छ । २० औं शताब्दीको पूवाद्र्धमा बाघको जनसंख्या १ लाखको हाराहारीमा रहेकामा यो संख्यामा ह्रास आइ ३ हजार २ सय मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण जंगल फँडानीले गर्दा बासस्थल कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।
यही प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुक संयुक्तरुपमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएर बिभिन्न पशुपक्षी संरक्षणार्थ संस्थाको सहयोगमा अघि बढे । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारिएको छ ।
बाघको महत्व
बाघलाई संसारभर प्रतीकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रुपमा रहेको बाघलाई साँस्कृतिक तथा ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पु¥याउँछ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
वातावरणीय सन्तुलन जंगली जनावरका लागिमात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो–मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षकले यी जीवको एकापसको सम्बन्धबारे बताउने गरेका छन् ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्नमात्र होइन, अन्य पशुलाई सहारा प्रदान गर्नसक्ने प्राणीका रुपमा पनि वनस्पति तथा पशुपक्षीविज्ञ चिन्छन् । यसलाई अंग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिन्छ । बाघ संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलो जंगल संरक्षित गरिनुपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपक्षीले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिका रुपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा बनजंगलको पनि संरक्षण हुन्छ ।