Friday, June 2, 2023

थानकोट–चित्लाङ सडक कालोपत्र माग्दै मन्त्रालयमा

ताजा / भरखरै प्राप्त

साउन ११, हेटौंडा–उत्तरी मकवानपुरको थाहा नगरपालिकाका जनप्रतिनिधिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गरी कालोपत्र गर्न माग गरेका छन् । थाहा नगर प्रमुख विष्णु बिष्टसहित टोलीले सोमबार भौतिक योजना मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसमक्ष उक्त माग राखेका हुन् ।

उनीहरुले उक्त सडक तत्काल सञ्चालनमा ल्याउन बिस्तृत सर्वेक्षण गरी बजेट प्रवन्ध गरेर चालु आर्थिक वर्षमा कालोपत्र गर्न माग गरेका छन् । विस्तृत सर्वेक्षण गरी लागत स्टिमेट तयार गरी बजेट प्रवन्ध गरेर चालु आवमा टेवा पर्खाल, पक्की नाली र कालोपत्र गर्न माग गरिएको छ ।

सचिवले महानिर्देशकको समन्वयमा भारीयन्त्र निर्देशनालयका निर्देशक भुवन अधिकारीले पहिरो हटाउन आवश्यक भारीयन्त्र पठाएका छन् । थानकोट–चित्लाङ सडकको सम्पूर्ण कार्यसम्पन्न गर्न थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने विषयमा थाहा नगरका प्रमुख बिष्ट र चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीबीच सहमति भएको छ ।

थाहा नगर प्रमुख बिष्टको नेतृत्वमा थाहा–९ का अध्यक्ष राजकुमार बलामी, जयराम लामिछाने, विष्णुहरि ढकाल, सीताराम अर्याल, बिनोद महर्जन, विश्वमान श्रेष्ठलगायत टोली भौतिक योजना मन्त्रालय पुगेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–९ र काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति गरिएको थियो । उक्त सडक स्तरोन्नति गर्न संघीय सरकारले १३ करोड उपलब्ध गराएको थियो ।

दोस्रो चरणमा उक्त सडक कालोपत्र र ढलमा स्ल्याब निर्माणका लागि वागमती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने बताएको छ । चित्लाङदेखि कुन्छालसम्म जोड्ने करिब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि भएको छ ।

चित्लाङ–थानकोट सडकको स्तरोन्नतिपछि मकवानपुरको हेटौंडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफुल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहा नगर प्र्रमुख बिष्टले बताए । थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्रयाक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

नेपाली कांग्रेस सरकारमा रहँदा थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्रयाक निर्माण गरी हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको पूर्वमन्त्री महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् । उक्त सडकको नेपाली कांग्रेसको सरकारले सर्वमान्य नेता गणेशमान सिंह मार्गको नामाकरण गरिएको उनले बताइन् ।

करिब ५५ वर्षअघि पाँच वर्षको श्रमदान लगाएर चित्लाङ–चद्रागिरि–थानकोट सडकको ट्रयाक खोलिएको थियो । पाँच दशकअघि ट्रयाक खोलिएको सडकको स्तरोन्नति हालसम्म सकिएको छैन । ढुंगा व्यापार गर्ने गिरोहको संलग्नताले सडक स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको स्थानीयको आरोप छ ।

२०७१ सालमा बिस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको सडकको हाल काठमाडौंतर्फको काम भइरहेको छ । उक्त क्षेत्रमा बिभिन्न बहानामा काममा अवरोध हुँदै आएको छ । चन्द्रागिरि भञ्ज्याङदेखि चनवन ब्यारेकसम्मको काम लगभग अन्तिम चरणमा पुगेको छ । कुल २२.५ किलोमिटर लम्बाईको सडकको काठमाडौंतर्फ ८.३ किलोमिटर र मकवानपुरतर्फ १४.२ किलोमिटर पर्दछ । उक्त सडक काठमाडौं थानकोट चेकपोष्टबाट शुरु भइ पातीघाट, चन्द्रागिरि भञ्ज्याङ, चित्लाङ, नारायणहिटी, बिसिङ्खेल, नौखण्डेसम्म छ ।

५५ वर्षदेखि सुस्तगतिमा रहेको सडकमा पछिल्लो वर्षमा भने आशलाग्दो प्रगति भएको दाबी छ । १ वर्ष अवधिमा थानकोटबाट २ हजार ५ सय मिटरदेखि ८ हजार २ सय ५० मिटरसम्मको सडकको ट्रयाक क्लियर भएको छ । सडक स्तरोन्नतिका लागि आव २०७०÷०७१ देखि छुट्टै कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो । किराँतेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनीले २०७३ साउन १७ गते सम्झौता गरी काम अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७०÷०७१ देखि हालसम्म उक्त सडक योजनामा करिब ४५ करोड खर्च भइसकेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक तत्काल निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । नेपालको प्राचीन सडक अर्थात् पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले पनि चासो देखाएको हो ।

२ हजार ३ सय वर्ष पुरानो चित्लाङमा लिच्छवीकालीन वास्तुकला र सम्पदा छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई आउन चन्द्रागिरि डाँडा पार गर्दै चित्लाङ भएर आउँथे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौंमा गाडी बोकेर लैजाने गरेका थिए ।

काठमाडौंमा मोटर लैजान बीरगञ्जदेखि मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो । भीमफेदीबाट भने वरपरका गाउँका तन्नेरीहरुका सयौं काँध चढेर काठमाडौं भित्रिन्थे मोटर । २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोड) निर्माण भएपछि काँधमा गाडी बोक्न छाडिएको थियो । स्थानीयले २०१८ देखि २०२२ सम्म गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ–थानकोट मार्गको निर्माण गरेका थिए । सरकारले भने २०६२ सालदेखि उक्त सडक निर्माण सुरु गरेको हो ।

देशकै चर्चितमध्ये एक थानकोट–चित्लाङ सडकलाई समग्र मकवानपुर र विशेषगरि उत्तरी क्षेत्र थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिकाले ‘समृद्धिको ढोका’ को रुपमा लिने गरिएको छ । थाहाबाट एउटा डाँडो छिचोलेपछि करिब १ घण्टामै काठमाडौं पुगिन्छ ।

त्रिभुवन राजपथ हुँदै नौबीसेबाट काठमाडौं जाँदा ३÷४ घण्टा बढी लाग्छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको थाहा र इन्द्रसरोवरको पर्यटन विकासका लागि उक्त सडक छिटो निर्माण गर्न सकिए उत्तरी मकवानपुर आर्थिकरुपमा थप गुल्जार बन्ने विश्वास गरिन्छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles