हेटौंडा–कृषि तथा पशुपक्षी विकास मन्त्रालय वागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठ वटा भदौ पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।
उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भइ मेसिन जडान काय भइरहेका कारण अब भदौ पहिलो सातामा सञ्चालनमा ल्याइने बताइएको हो । मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उनले जनाए ।
मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत् ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेको सचिव पाण्डेको भनाइ छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसंखुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करिब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत्मात्र काम भएकाले उक्त शीतभण्डार भने छ महिनाभित्र सञ्चालन गरिने बताए ।
प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिकटन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत् र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत् लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
विदुरमा १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो । तर, कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रष्ट्याए ।
दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उनले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने उनले बताए । मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकामा हालसम्म करिब ९५ प्रतिशत् सम्पन्न भएको छ ।
एक हजार ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । हालसम्म ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा एक हजार ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकोमा हालसम्म १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत् काम सकिएको दाबी गरिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गर्न पाँच करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो । उक्त शीतभण्डारको ९४ प्रतिशत् काम सकिएको मन्त्रालयले जनाएको छ । रामेछापको मन्थलीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि पाँच करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण कार्य ९६ प्रतिशत् सम्पन्न भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । पाँच सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि पाँच करोड ३५ लाख लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत् काम सकिएको मन्त्रालयले जनाएको छ ।
दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा पाँच करोड ३७ लाख लागतमा ५ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण सुरु भए पनि हालसम्म ९४ प्रतिशत् काम सकिएको बताइएको छ ।
रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिकटन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ ।
केही शीतभण्डारमा मेसिनसमेत जडान भएर बत्तीको मिटरमात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवकोटका दुई वटाको मात्र करिब ३५ प्रतिशत् काम बाँकी रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका बाबजुद् पनि काम सकेर सञ्चालनमा ल्याउने तयारीमा रहेका शीतभण्डार मन्त्रालयको सफलता भएको जनाइएको छ ।