हेटौंडा–मरिण, सिन्धुलीमा भेटिएको लोपोन्मुख तामे सालकलाई बुधबार हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक बन उपभोक्ता समूहको जंगलमा छाडिएको छ ।
डिभिजन बन कार्यालय, मरिण सिन्धुलीका डिभिजनल बन अधिकृत पुष्पराज बर्तौलाले मरिणका स्थानीयले कार्यालयमा बुझाएको सालक रानी सामुदायिक बन कार्यालय सचिव भीमसेन पौडेललाई हस्तान्तरण गरेका थिए । उक्त सालकलाई समूहद्वारा ब्लक नम्बर–५ मा निर्मित सालककेजमा छाडिएको छ ।
समूहले यसअघि पनि विभिन्न स्थानहरुमा भेटिएका सालकलाई उक्त केजमा राख्ने गरिएको छ । बन समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ । हाल उक्त समूहको क्षेत्रभित्र करिब २ दर्जन सालक रहेको समूहले जनाएको छ । लजालु स्वभावको सालक मानिसको मित्रप्राणी मानिन्छ ।