हेटौंडा–मनहरी गाउँपालिका वडा नम्बर—५ का ७८ वर्षीया ढलककुमारी बिष्ट वृद्धभत्ता लिन छोराको सहारा लिएर जाने गर्थिन् । झण्डै डेढ घण्टा हिँडेर पालिकाको रजैयास्थित सांग्रिला डेभलपमेन्ट बैंकमा जानुपर्ने उनको बाध्यता थियो ।
बैंकमा भीड हुँदा रकम लिन एक घण्टा बढी समय कुर्नुपथ्र्यो । बल्लतल्ल पैसा निकालेर घर फर्कन पनि सास्ती झेल्नुपथ्र्यो । वडा अध्यक्ष घरमै पैसा लिएर आएको देखेर ७८ वर्षीया बुद्धाको अनुहारमा हाँसो छायो । उनले वडा अध्यक्षलाई सुबिधा दिएको भन्दै धन्यबाद दिइन् ।
वडाका अधिकांश ज्येष्ठ नागरिक र अशक्त वडामै बैंक नभएर रजैया जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए । घरबाट बैंकसम्म आउँदा करिब दुई घण्टा हिँड्नुपर्ने र भीडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यता अब अन्त्य भएको हो । किनकि, मनहरी गाउँपालिकाका एक वडाले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छन् ।
वडा अध्यक्ष दीपेन्द्र अधिकारीले अब अशक्तका लागि घरघरमै सामाजिक सुरक्षाभत्ता वितरण शुरु गर्न थालेपछि स्थानीयलाई सहज भएको बताउँछन् । बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाट भत्ता पाउन थालेपछि हाल वडाका अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिकलाई सहज भएको उनी बताउँछन् ।
अधिकारीले अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । उनले भने–वर्षाको समय छ, खोला तरेर आउनुपर्ने अवस्था पनि । वडाको सिरदमार, रुञ्चेडाँडाबाट पालिका पुगेर बृद्धभत्ता लिन जाँदा ज्येष्ठ नागरिक र अशक्तलाई समस्या परेकाले बैंकसँग सहकार्य गरेर अशक्तलाई घरघर पुगेर वितरण गरिरहेको छु,’ उनले भने । हाल वडामा सामाजिक सुरक्षाभत्ता लिने ३ सय ६७ जना छन् ।