हेटौंडा–जनताले तिरेको करवापत्को सरकारी रकममा कर्मचारीले आफूखुशी मनलाग्दीढंगले खर्च गरेको पाइएको छ ।
वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् १३ सरकारी कार्यालयले कार्यालयको विविध खर्चमा १० करोड ९८ लाख ४२ हजार रुपियाँ खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १३ सरकारी कार्यालयले गरेको विविध खालका खर्चमा प्रश्न गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् सरकारी कार्यालयले आर्थिक वर्ष २०७७–०७८ मा धेरै रकम नियमसंगत खर्च किन नगरेको भनेर प्रश्न उठाएको हो । विभिन्न कार्यालयले कन्टिन्जेन्सीवापत् खर्च रकम दैनिक भ्रमण भत्ता, इन्धन, गाडी र मोटरसाइकल मर्मत, कार्यालय तथा स्टेशनरी, छपाइ, सूचना प्रकाशन, खाजा र कार्यालय सञ्चालन खर्चमा धेरै रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् कार्यालयको खर्च निर्माण सुपरभिजनमा खटिएका प्राविधिक समेतको रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले बताए । कार्यालयगत् खर्च हेर्दा जनताले तिरेको करबाट प्राप्त सरकारी पैसामा कर्मचारीको दोहन भएको छ । यस्ता खर्चमा नियममा विस्तृत गरेर कन्टिन्जेन्सी खर्चको कार्यविधिसमेत तर्जुमा गरेरमात्र खर्च गर्न महालेखाले सुझाव दिएको छ ।