पोखरा–आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोहबीच बास्तोलालाई पुरस्कार प्रदान गरेका थिए ।
गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको १ सय १६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा सञ्चालित आव २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपाल केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ ।
समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सालको वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरेवापत् उनलाई पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्दतत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपाल केन्द्रीय सभापति वसन्तलाल महासरस्वतीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्था केन्द्रीय सहसभापति विष्णुदास उपाध्याय ढकालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गुरुआमा अपर्णा चक्रवर्तीको पनि सम्बोधन रहेको थियो । कार्यक्रमको सञ्चालन संस्था केन्द्रीय कार्यबाहक सचिव लक्ष्यजीवी घिमिरेले गरेका थिए ।