सुनिता बिष्ट
हेटौंडा–हेटौंडा–५ की हीरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेंलो र हरियो मिश्रित पोते लगाएकी छन् । उनले दुवै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । पहेंलो सारीमा सजिएकी हीराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेंलो र हरियो मिश्रित पोते लगाएका छन् भने हत्केला र खुट्टा बुट्टेदार मेहन्दीले भरिएको छ ।
साउन महिनामा विवाहित नारीले हरियो, पहेंलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहन्दी लगाइ सोमबार शिवजीको व्रत बसे पतिको आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहेंलो पहिरन, चुरा र मेहन्दी लगाउने फेसन नै चलेको छ । खसआर्य समुदायका महिलाबाट शुरु भएको फेसन हाल स्थानीय अन्य समुदायका महिलामा समेत फैलिएको छ । यससँगै श्रृंगारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।
साथीसंगीका हातमा चुरा र मेहन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेंलो चुरा र हत्केलामा मेहन्दी लगाउने गरेको आहा कलेक्सनकी रेनु मानन्धरले बताइन् । त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहन्दीको व्यापार तेब्बर बढ्ने गरेको उनले बताइन् । ‘हाल त झन् फेन्सी डिजाइनका रंगीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,’ उनले भनिन् ।
सबै देवीदेवतालाई मन पर्ने महिनाका रुपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहन्दी लगाउने श्रृंगार कस्मेटिक पसलकी राधा श्रेष्ठले बताइन् । ‘साउन महिना प्राकृतिकरुपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । त्यसकारण साउनमा हामी महिलाहरु पनि प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरा लगाउने परम्परा बसालिएको हो,’ उनले भनिन्–साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ । साउनमा विशेषरुपमा मनाउने सोमबार व्रत बस्ने गरेकाले पनि रंगीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहन्दी र पोतेको व्यापार बढेको उनले बताइन् ।
पछिल्लो समय साउन महिनामा विवाहित होस् वा अविवाहित महिला, सिंगारपटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय वृद्धि भएको देखिन्छ ।
श्रृंगार कस्मेटिक पसलकी राधाले साउन महिनामा अन्य महिनाभन्दा दोब्बर तेब्बर व्यापार हुने बताइन् । ‘यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कञ्जुस्याईं नै गर्दैनन् । जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारका नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,’ उनले भनिन् । उनका अनुसार अरु बेला दैनिक आठदेखि १५ हजारको श्रृंगारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहन्दी, पोते र चुरामात्र दैनिक २५ देखि ५० हजारसम्म व्यापार गर्दछन् ।
साउन महिनाका लागि असारको पहिलो हप्तादेखि नै सामान संकलन गर्नुपर्ने राधाले बताइन् । ‘असार शुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि हुन्छ,’ उनले भनिन् । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने एउटा परम्पराजस्तै बनिसकेको छ । हिन्दु सँस्कार मान्ने खसआर्य समुदायका महिलाले मात्र होइन, अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले पनि साउन महिनालाई धर्म र सँस्कृतिको पवित्र महिनाका रुपमा लिइने सँस्कृतिकर्मी बताउँछन् ।