हेटौंडा–बिजुलीको तारले घाँटीमा बेरेर हेटौंडामा हत्या गरिएकी तेस्रोलिंगी अजिता भुजेलको परिवारलाई जिल्ला अदालतले सरकारी राहत कोषबाट क्षतिपूर्ति प्रदान गरेको छ । शुक्रबार जिल्ला अदालत मकवानपुरले तेस्रोलिंगीकी आमालाई क्षतिपूर्तिबापत् ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो ।
तेस्रोलिंगी अजिता भुजेल २०७६ माघ ४ गते क्याम्पाडाँडामा मृत फेला परेकी थिइन् । उनको हत्या गरी साथमा भएको मोबाइल र गरगहना लुटिएको थियो । प्रहरीको अनुसन्धानबाट उनलाई जबर्जस्तीकरणी गरी हत्या गरिएको पाइएको थियो । भुजेलको हत्यामा संलग्न ३ जनालाई जबर्जस्तीकरणी र ज्यान मुद्धामा आजीवन कैद फैसला भएको छ । आजीवन कैद सजायमा अभियुक्त घनटाउके भनिने सुनिल थापामगर, ह्याक्चर भनिने बुद्ध लामा र आशीष बल छन् । अजितालाई हेटौंडा–११, थानाभ¥याङस्थित ट्रकमा उनीहरुले यौनसम्पर्क गरी पैसामा विवाद भएपछि तारले घाँटी च्यापेर हत्या गरेको प्रहरीसँग बयान दिएका थिए ।
जबर्जस्तीकरणी र ज्यान मुद्धामा संलग्न रहेकी बालिकालाई १६ वर्ष, ज्यान मुद्धा र डाँकातर्फ ६ वर्ष कैद फैसला भएको थियो । भुजेलको परिवारले क्षतिपूर्ति माग राखेका थिए । जिल्ला अदालतले क्षतिपूर्ति भराउने गरी २०७८ माघ २० गते निर्णय गरेको थियो । जिल्ला अदालतले तेस्रोलिंगीको परिवारसहित ४ जनालाई जबर्जस्तीकरणी मुद्धामा पीडितलाई सरकारी राहतकोषबाट १० लाख प्रदान गरेको छ ।
हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंगी अजिताको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि नवलपुरमा दाहसंस्कार गरिएको थियो । पोष्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको थियो । अजिताको घाँटीमा बत्तीको तार बेरिएको र घाँटीमा निलडाम देखिएको थियो ।
माघ २० गते प्राविधिक अनुसन्धानका आधारबाट हेटौंडा–११ बस्ने पाख्रिनसँग मृतक भुजेलको ओप्पो मोबाइल बरामद भएको थियो । उनलाई सोध्दा आशीष बलले दिएको भन्ने बताइयो । आशीष बललाई खोजतलासपछि पक्राउ गरी सोधपुछ गर्दा उक्त मोबाइल हेटौंडा–४, कर्रा बस्ने बुद्ध लामाले दिएको भन्ने बताइयो ।
सोपश्चात् तत्काल बुद्ध लामालाई चितवनबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले मोबाइल कर्रा बस्ने वर्ष २४ का भापु भनिने ना. ६ ख ६५२७ नम्बर आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको भन्ने बताए । तत्काल भापु (परियार) लाई पक्राउ गरियो । घटनाका मुख्य भनिने परियारमाथि अनुसन्धान गर्दा भुजेलको हत्या गरेको खुलेको हो ।
उनलाई सोधपुछ गर्दा माघ ३ गते राति करिब १० बजे भापु भनिने परियारले ना.६ ख ६५२७ नम्बर आइचर ट्रक साहुलाई नसोधी गाडी स्टार्ट गरी कमानेबाट हेटौंडा–१० को बसपार्कमा आए । उनले चुरोट किनेर खाँदा हेटौंडा–४, कर्रा बस्ने घनटाउके भनिने थापामगरलाई भेटी यौनसम्पर्क गर्न भनी दुवै जना सल्लाह गरी ट्रक सुनिल थापाले चलाएर थानाभर्याङमा राति करिब १२ बजे पुगेकोमा ट्रक थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डको छेऊमा पार्किङ गरेका थिए ।
सुशील थापामगर गाडीबाट झर्दा भुजेललाई भेटी ४ जनाले ७ हजार रुपियाँमा यौनसम्पर्क गर्ने कुराकानी भयो । प्रहरी भन्छ–उनीहरु भुजेलसहित ट्रकमा चढेर चारै जनाले ट्रकको अगाडिको क्याबिनमा रहेको सिटमा पालोपालो यौनसम्पर्क गरे । र, अजिताले पैसा माग्दा विवाद भयो । त्यसपछि सुशीलले अजिताको घाँटीमा सोही गाडीमा रहेको बिजुलीको तार बाँधे । अजितालाई अँठ्याएर बेहोस बनाइयो । सबै मिली हत्या गरेपश्चात् सुशीलले ट्रक चलाएर सबैजना मिली अजिताको शव सोही ट्रकमा क्याम्पाडाँडामा सडकको छेऊमा राखे । र, उनीहरु त्यहाँबाट फरार भए । सुशील चोरी मुद्धामा तीन वर्ष जेल बसेर भर्खर निस्किएका थिए ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अजिताको परिवारले घटनामा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही माग गरेका थिए । घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले असुरक्षित भएको बताएका छन् । घटना अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको थियो । अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक लैंगिक पहिचानका आधारमा नागरिकता लिएकी थिइन् । प्रशासनले उनलाई ३१–०१–६९–११५६७ नम्बर र लिंगको पहिचानमा ‘अन्य’ शब्द लेखेर नागरिकता दिएको छ । भुजेल तेस्रोलिंगीको नामबाट नागरिकता लिने नेपालकै दोस्रो र मध्यमाञ्चलकै पहिलो भएको निलहिरा समाज मकवानपुरले जानकारी दिएको छ । उनले समलिंगी विवाह गरेकी थिइन् ।