हेटौंडा–भानु जयन्तीको अवसरमा आयोजित स्थलगत् कवितालेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट ३ विद्यार्थी छनौट भएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा विद्यार्थी छनौट भएका हुन् ।
उत्कृष्ट छनौट हुनेमा सोलिड्यारिटी इन्टरनेसनल बोर्डिङ स्कुलका प्रज्ञान पन्त, सत्यम् जेभियर्सका बोर्डिङ स्कुलका स्तुति कर्ण र जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने छन् । उनीहरुलाई शिल्ड, प्रमाणपत्रसहित नगद प्रदान गरिएको थियो । प्रतियोगितामा जीएस निकेतन विद्यालयकी सारा केसी सान्त्वना भइन् । प्रतियोगितामा साहित्यकार पुष्प पराग, छवि अनित्य, ऋषि केबीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
नगरमा रहेका सामुदायिक तथा संस्थागत् विद्यालय कक्षा–९ र १० मा अध्ययनरत् २९ विद्यार्थीले स्थलगत् कवितालेखनमा सहभागिता जनाएका थिए । जसमा ७ वटा कविता निर्णायकले छनौट गरी विद्यार्थीले वाचन गरेका थिए । नवोदय साहित्यक बगैंचा बालक्लब अध्यक्ष दर्शना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखा प्रमुख गंगाघर रिमालको विशिष्ट आतिथ्यता थियो ।
महाशाखाले विद्यार्थीको सिकाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रिमालले बताए । कार्यक्रममा साहित्यकार तथा अधिवक्ता ऋषि केबीद्वारा रचना गरिएको ‘रगतले लेखिएको इतिहास’ पहिलो गजलनाटक मञ्चन भएको थियो । नाटकमा स्वर साहित्यकार पुरुषोत्तम आचार्यको थियो भने निर्देशन आशाकाजी श्रेष्ठले गरेका थिए ।
नवोदय साहित्यिक बगैंचा बालक्लब उपाध्यक्ष रोनश उप्रेतीले शिक्षामा हुने परिवर्तन विषयक बहस कार्यक्रम सञ्चालन गरेका थिए । बहसमा मकवानपुर बालविद्या सदनकी प्रिन्सा कार्की, जीएस निकेतनकी निमिशा निरौला, आधुनिक माविका रत्नाकरकुमार साह, जनज्योति मावि मयुरधापका सौरज देबकोटा तथा नवोदय शिशु सदनका निर्भिक ज्ञवालीले हालको समयमा विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने विषयमा आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा साहित्यकार डीबी बर्तौला, दीपक गौतम, नवोदय विद्यालयका विद्यार्थीले भानु जयन्तिसम्बन्धि कविता तथा गीत प्रस्तुत गरेका थिए । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा नवोदय विद्यालयले विविध कार्यक्रम आयोजना गर्दै प्रत्येक वर्ष जन्मजयन्ती मनाउने गरेको कार्यक्रम संयोजक तथा नेपाली भाषा शिक्षक सीएम रिमालले जानकारी दिए ।