हेटौंडा–वागमती प्रदेशको चितवनस्थित पर्यटकीय नगर सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या घटेको छ । मुलुकमा देखापरेको आर्थिक संकट र कोरोना महामारीको दीर्घकालीन असरका कारण सौराहामा पर्यटकको संख्या घटेको हो । पर्यटक आगमन घट्दै गएपछि सौराहा सुनसान भएको छ भने व्यवसायी निराश बनेका छन् ।
सौराहाको मुख्य बजारआसपास होटलहरुमा भन्दा अन्य होटलमा पर्यटक छैनन् । साना तथा मझौला होटलहरुमा पर्यटक नआएपछि बन्द गर्नुपर्ने अवस्था आएको छ । पर्यटक घटेपछि व्यवसायीले कर्मचारीलाई बिदा दिएका छन् । गाइडहरु कामविहीन छन् ।
कोरोना महामारी अन्त्य भएपछि सौराहामा पर्यटक आगमन वृद्धि भएको थियो । मुलुकमा देखिएको आर्थिक संकट, स्थानीय तह निर्वाचन र सडकको दुरवस्थाका कारण सौराहामा पर्यटक आगमन घटेको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । स्थानीय तहको निर्वाचन र मुग्लिन–नारायणगढ सडकखण्डमा पटकपटक गएको पहिरोका कारण सौराहामा पर्यटक नआएको उनको भनाइ छ ।
नेपाल आएका विदेशी पर्यटकहरु काठमाडौं, पोखरा र लुम्बिनीबाट सौराहा आउँछन् । ‘तीनवटै पर्यटकीयस्थलबाट सौराहा आउने सडकको अवस्था सहज छैन,’ अध्यक्ष भट्टराईले भने–हाले पर्यटक घट्नुको मुख्य कारण सडक हो । सौराहामा हाल २५ देखि ३० जनामात्र विदेशी पर्यटक छन् । यो संख्या ज्यादै न्यून हो । कोरोनाबाहेकको अवस्थामा करिब दैनिक ५ सय विदेशी पर्यटक सौराहा आउने गरेका थिए । हाल सौराहामा विदेशी पर्यटक फाट्टफुट्टमात्र देखिन्छन् ।
सौराहामा स्वदेशी पर्यटक दैनिक १ सय ५० को हाराहारीमा आएका छन् । ‘विदेशी पर्यटक त छैनन् भन्दा पनि हुन्छ’, संघ अध्यक्ष भट्टराईले भने–स्वदेशी पर्यटकहरु पनि ज्यादै न्यून संख्यामा छन् ।
कोरोना महामारीको अन्त्यसँगै स्वदेशी पर्यटकका कारण सौराहा चलायमान हुन्छ भन्ने आँकलन व्यवसायीले गरेका थिए । तर, महामारी सकिएको डेढ वर्ष हुनलाग्दा पनि सौराहा पुरानो लयमा फर्किन सकेको छैन । संघ अध्यक्ष भट्टराई सौराहामा पर्यटक घट्नुको अर्को कारणमा आर्थिक मन्दीलाई दोष दिन्छन् । ‘स्थानीय तहको निर्वाचनलगत्तै देशमा आर्थिक संकट देखाप¥यो,’ उनले भने–मान्छेसँग पैसाको अभाव हुँदै गएको छ । यस्तो बेला घुम्ने हैसियत कसैसँग पनि हुँदैन ।
सौराहामा पर्यटक नआएपछि ९० प्रतिशत् होटलहरु खर्च धान्ने अवस्थामा छैनन् । १० प्रतिशत् होटलहरु मात्र खर्च धान्ने अवस्थामा छन् । होटल ट्रिटप्सका सञ्चालक दिलीप पौडेलले पर्यटक नआएपछि होटल बन्द गर्ने अवस्था आएको बताए । ‘असार महिना पर्यटक कुरेरै गयो,’ उनले भने–पानी र बिजुलीको शुल्कसमेत तिर्न नसक्ने अवस्था आएको छ । होटलमा काम गर्ने कर्मचारीलाई तलब दिनसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
होटल मोनालिसा चितवनका सञ्चालक केशब खनालले हवाइभाडा वृद्धि र नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोका कारण सौराहामा पर्यटक घटेको बताए । उनले हालको अवस्थाले सौराहामा ९० प्रतिशत् होटलले खर्च धान्नसक्ने अवस्था नरहेको बताए । असोज महिनापछि सौराहामा पर्यटक वृद्धि हुने उनको अनुमान छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहा पूर्वअध्यक्ष गोकर्ण गिरीले सौराहामा विदेशी पर्यटक देख्नै मुस्किल भएको बताए । ‘पर्यटकीय नगर सौराहाको मुख्य आम्दानीको स्रोत विदेशी पर्यटक हुन्,’ उनले भने–कोरोना महामारीपछि विदेशी पर्यटक आउनै छाडेका छन् । हाल सौराहा गएका स्वदेशी पर्यटकको संख्याले सौराहाका सबै रेस्टुरेन्ट सञ्चालन गर्नसक्ने अवस्था नरहेको उनले बताए ।
सौराहामा १ सय २० वटा पर्यटकीय होटल र ८० वटा रेस्टुरेन्ट छन् । ६ हजार ५ सय बेड रहेको सौराहामा ७० हजार पर्यटक राख्नसक्ने क्षमता छ । होटल, जिप र हात्तीसफारी गरी ५ हजार ५ सय कर्मचारी सौराहाको पर्यटन उद्योगमा कार्यरत् छन् ।