हेटौंडा–हेटौंडा–१५ की शोभा सुनारलाई ५० हजार बराबरको बाख्रा सहयोग भएको छ । दलित, विपन्न तथा अपांग रहेकी सुनारलाई हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ७ वटा बाख्रा सहयोग गरिएको हो ।
सुनारलाई बुधबार वडाध्यक्ष सुनिल मुक्तानले उक्त बाख्रा हस्तान्तरण गरेका हुन् । रातोमाटे ठूलोदमार, सुकौलीकी सुनारलाई ६ वटा पाठी र १ वटा बोका गरी ७ वटा बाख्रा सहयोग गरिएको वडाध्यक्ष मुक्तानले बताए । बाख्रा हस्तान्तरण गर्दै वडाध्यक्ष मुक्तानले आफूले यसअघि पनि धेरै सामाजिक कामहरु गरेको र आगामी दिनमा पनि गरिब, जेहेन्दार र विपन्नको पहिचान गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सुनारले आफूलाई बाख्रा सहयोग भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै प्रकारका सहयोगको अपेक्षा गरेको बताइन् । बाख्रा हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरुको सहभागिता थियो ।