हेटौंडा–मकवानपुरगढी गाउँपालिकाले राजस्व दाखिला नगरेको भन्दै केही दिनअघि बन्द गरेको साईबाबा क्रसर उद्योग बुधबारबाट पुनर्संञ्चालनमा आएको छ ।
उद्योगले राजस्व र जरिवाना गरी ५३ लाख ४४ हजार १ सय ४२ रुपियाँ र अमानतमा बिक्री गरिएको ११ लाख १८ हजार ७ सय रुपियाँ पनि पालिकामा जम्मा गरेपछि बुधबारबाट उद्योग पुनर्संञ्चालन गरी बिक्री सुरु भएको पालिका उपाध्यक्ष एवम् नदीजन्य पदार्थ उत्खनन् तथा अनुगमन समिति संयोजक मानकुमारी पाख्रिन (नेपाली) ले बताइन् । उनले अन्य ४ वटा बन्द गरिएका उद्योग पनि राजस्व दाखिलाको तयारीमा रहेको बताएकी छन् ।
मकवानपुरगढी गाउँपालिकामा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरुले पालिकालाई बुझाउनुपर्ने राजस्व समयमा नबुझाएपछि क्रसर उद्योगमा २५ गते ताला लगाएको थियो । पालिकाका उपाध्यक्ष तथा राजस्व समिति संयोजक पाख्रिनको नेतृत्वमा वडा नम्बर–५ का वडा अध्यक्ष एवम् पालिका प्रवक्ता दिपेश दाहाल, वडा नम्बर–६ का वडा अध्यक्ष एवम् अर्थ समिति संयोजक कृष्णप्रसाद बजगार्इं, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरीसहित टोलीले वडा नम्बर–५ र ६ मा रहेका ५ वटा क्रसर उद्योगमा ताला लगाइ उत्पादनमा रोक लगाएको थियो ।