–बालकुमार श्रेष्ठ
अहिले बजेट कार्यान्वयनका दिशामा काम शुरु भैरहेको सन्दर्भमा हेटौंडा उपमहानगरले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन
गरी कार्यान्वयन गरोस् भन्ने आशा राख्दछु । बिगत तीन बर्षमा यही उपमहानगरपालिकाले शिक्षा क्षेत्रकै एउटा महत्वपूर्ण काम गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको पाठ्यक्रम निर्माण समितिले पालिकाभित्रका ७९ वटा सामुदायिक र ४० वटा संस्थागत विद्यालयहरुमा यस शैक्षिक बर्षबाट कक्षा १–३ मा लागू गरिने गरी तयार पारिएको स्थानीय पाठ्यक्रम हाम्रो हेटौंडा उपमहानगरपालिका को प्रवोधिकरण स्थानीय पाठ्यक्रम निर्माण समितिको सदस्यको हैसियतले केही लेख्न मन लागेकोले यस लेखमा केही उजागर गर्ने प्रयास गर्दैछु । अहिले धेरै पालिकाहरुले गतबर्ष नै स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वनमा ल्याएका थिए ।
उपमहानगरपालिकाको बजेट विनियोजन तथा सामाजिक विकास संयोजक तथा सदस्यहरुको सक्रियतामा आ.व.२०७६÷०७७ र २०७७÷७८ मा विषय विशेषज्ञ प्राविधिक समितिका ३ जना शिक्षकहरुले धेरै परिश्रम गरी तयार पारेका थिए । अब यस पाठ्यक्रमलाई आमविद्यालय तहमा लैजान यसै आ.व. मा कार्यान्वयनमा लैजान बजेट विनियोजन गरी थप कामहरु पालिकाले यथाशीध्र नै गर्नुपर्ने देखिन्छ ।
पाठ्यक्रममा पाठ्यपुस्तक तयार नहोउञ्जेल शिक्षकहरुले विस्तृतिकरण तालिकालाई अभ्यास गर्नका लागि त्यहाँ दिइएको संभावित शिक्षण क्रियाकलापहरु, शैक्षिक सामग्रीहरुको प्रयोग, मूल्यांकनका आधारहरुलाई प्रस्तुत गरिएको छ ।
त्यस मूल्यांकनका आधारहरुलाई विद्यार्थीलाई बुझिने पदावलीको प्रयोग गरिएको छ । हाम्रो हेटौंडा उपमहानगरपालिका स्थानीय पाठ्यक्रमलाई ११ वटा एकाइहरुमा तहगत र कक्षागत सक्षमताहरु लम्बीय र क्षितिजीयरुपमा निर्धारण गरिएको छ ।
पाठ्यक्रमको अन्तिम स्वरुप दिइ त्यसको प्रकाशनका क्रममा हेटौंडा उपमहानगरपालिका आफैले आयोजना गर्नु मनाशिव हुन्छ । भोलिको स्थानीय पाठ्यक्रमको प्रभावकारीतामा कमी कमजोरी, आलोचना र थप परिमार्जन गर्नुपरेमा उपमहानगरपालिका नै जिम्मेवार हुनुपर्ने अवस्था छ । यहाँ राजनीतिक ईशारामा चल्ने नेतृत्वको भन्दा शिक्षा प्रशासनमा अब्बल भएका प्रशासनिक इकाइ शिक्षा विकास महाशाखाको भुमिका महत्वपूर्ण रहला ।
स्थानीय पाठ्यक्रममा विद्यार्थीलाई आफ्नो परिचय दिन सक्नेदेखि वडाको नक्सा पहिचान सम्मका सक्षमताहरुको विकास गराउने खालका उद्देश्यहरु समेटिएका छन् । कुनै पनि विद्यार्थीलाई आफ्नो नगरपालिकाको चार किल्ला छुट्याउन, यहाँको जातजाति, भेषभूषा, स्थानीय स्मारकहरु, धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको बारेमा समावेश गरी शिक्षण क्रियाकलापहरु डिजाइन भएका छन् । पाठ्यक्रमको स्तर राम्रो छ ।
त्यसलाई शिक्षकहरुले स्थानीय सामग्रीबाट सिकाउन सक्ने गरी संरचना तयार भएको छ । पाठ्यक्रम विकासको चरणअन्तर्गत सर्वप्रथम आवश्यकता पहिचान गरिएको थियो । मातृभाषा वा स्थानीय पाठ्यक्रम स्थानीय तहले १०० पूर्णाकंको राख्नुपर्ने राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७३ ले गरेको व्यवस्था नै यसको पहिलो आवश्यकता थियो ।
त्यसपछि स्थानीय तह संरचनालाई कक्षा १ देखि नै केही जानकारी दिनुपर्ने, स्थानीयकरणको महत्वलाई विद्यार्थीमा अवधारणा विकास गराउनु पर्ने र स्थानीय स्मारकहरु, स्थानीय पेशा व्यवसाय, स्थानीय पहिचान, प्रविधि र प्रयोगहरुलाई संरक्षण गर्नुपर्ने वर्तमान आवश्यकतालाई सम्बोधन गर्न वर्तमान हाम्रो हेटौंडा उपमहानगरपालिका नामको स्थानीय पाठ्यक्रम तर्जुमा प्राविधिक समितिले तयार गरेको हो ।
म, हामी, हाम्रो समुदाय, हाम्रो भेषभुषा, जातजाति, हाम्रो वडाको चार सीमाना, हाम्रो वडाको वडाध्यक्षको नाम, हाम्रा स्थानीय सम्पदा आदि ११ वटा क्षेत्रहरुमा वर्तमान हेटौडा उपमहानगरस्तरीय स्थानीय पाठ्यक्रममा निर्धारण गरिएका छन् । ती क्षेत्रभित्र विशिष्ट उद्देश्य, शैक्षिक क्रियाकलाप आदि कुराहरुलाई क्रमबद्ध रुपमा समायोजन गरिएका छन् । शिक्षकलाई शिक्षणमा सहयोग पुगोस् भनी पाठ्यक्रमको अनिवार्य खण्ड विशिष्टीकरण तालिकालाई पनि समेटिएको छ ।
यति कुराहरु हुँदाहँदै पनि त्यसका संरचनाहरु स्थानीयरुपमा विद्यालय वरपरका सामग्रीहरु प्रयोग गर्न सकिने, शिक्षकलाई शिक्षण विधि र क्रियाकलापहरुको व्याख्या गरिएको छ । यस स्थानीय पाठ्यक्रममा आधारभूत तह पूर्व प्राथामिक कक्षाका विद्यार्थीको उमेर समूह अनुकुल मापन– योग्य व्यवहार कुशल सिपहरु उपलब्ध गराइएका छन् ।
वर्तमानमा हेटौंडा उपमहानगरपालिकाको कक्षा (१–३) स्थानीय पाठ्यक्रमको ढाँचा स्थानीय पाठ्यक्रमले मुख्यरुपमा स्थानीय आवश्यकता, स्थानीय सहभागिता, स्थानीय विषयवस्तु र स्थानीय विज्ञतालाई समेटेको हुन्छ । स्थानीय पाठ्यक्रम भनेको पनि राष्ट्रिय पाठ्यक्रमको एक अंश भएकाले यसको ढाँचा र स्वरुप सामान्यतया राष्ट्रिय पाठ्यक्रमकै अनुसार राख्ने गरिन्छ । यस पाठ्यक्रममा पनि संघीय र प्रदेशस्तरको पाठ्यक्रमका निम्न ढाँचा अनुकुल सबै क्षेत्र र क्रमहरुलाई समायोजन गरिएको छ ः
कः सक्षमता÷उद्देश्य ः
स्थानीय तहमा प्रचलित परम्परागत व्यवसायिक सिप हासिल गर्न र त्यसको प्रवद्र्वन गर्न, स्थानीय स्तरमा प्रचलित पर्व र परम्पराप्रति जानकार रही त्यसको सम्बद्र्वन गर्न तथा स्थानीय जनजाति र वेशभुषा पहिचान गरी विशेषता पहिल्याउन आदि उदाहरणहरु स्थानीय पाठ्यक्रमको तहगत सक्षमताको रुपमा रादिएको छ ।
खः स्थानीय विषयवस्तु ः
विषयवस्तु समावेश गर्दा कक्षागतरुपमा एउटै विषय क्षेत्र राखिएता पनि तहगतरुपमा समतलीय सक्षमता र लम्बीय सक्षमताको क्रममा मिलाइ प्रस्तुत गरिएको छ ।
गः कक्षागत सिकाइ उपलब्धी ः
स्थानीय आवश्यकताअनुसारको आधारमा साधारण (तहगत) उद्देश्य र विषयवस्तु तय गर्दा कक्षागत रुपमा सुरुमा सामान्य र विस्तारै उपल्लो कक्षामा विशिष्टीकृत गरेर राख्न सकिन्छ । एउटै विषय मात्र एउटा तहको सबै कक्षामा राख्नै पर्छ भन्ने छैन । सामान्य खालका विषयवस्तु भए एउटै कक्षामा वा कक्षापिच्छे फरक फरक राख्न सकिन्छ । यहाँ पनि विषयगत प्राविधिक समितिले तहगत रुपमा विषयवस्तुको विद्यार्थीको उमेरअनुसार कठिनाइस्तर अनुरुप राख्दा विषयवस्तुको क्षेत्र र क्रम तयार पारेर राखिएको छ ।
घः शिक्षण विधि र प्रक्रिया ः
अवलोकन, छलफल, प्रश्नोत्तर, अभिनय, प्रदर्शन, सोधखोज, परियोजना कार्य र क्षेत्रभ्रमण विधिहरुलाई विस्तारपूर्वक सञ्चालन गर्दा कुन कुन विषयवस्तुलाई कुन विधि र कतिवटा विधिलाई विद्यालय वाहिरको वातावरणमा प्रयोगात्मक रुपले गराउँदै गर्न सकिन्छ, स्थानीय पाठ्यक्रममा उल्लेख हुनुपर्दछ । त्यसलाई विद्यालयको आर्थिक र भौतिक क्षमताअनुसार छनोट गरी अध्यापन गराउन सकिन्छ । हाम्रो हेटौंडा उपमहानगरपालिका स्थानीय पाठ्यक्रममा पनि कार्यान्वयनका क्रममा विद्यालयको आर्थिक क्षमताअनुरुपका क्रियाकलाप मात्र गराएर अघि बढ्न सक्ने खालका क्रियाकलाप, विधि र सामग्रीहरु तोकिएका छन् ।
ङः विद्यार्थी मूल्यांकनका आधार ः
निर्माणात्मक र निर्णयात्मक मूल्यांकनका आधारहरु यस खण्डमा समावेश गर्नूपर्दछ । खासगरी कक्षा १,२ र ३ मा निरन्तर मूल्यांकन नै गरिने भए पनि ४० प्रतिशत प्रयोगात्मक परीक्षाबाट र ६० प्रतिशत सैद्धान्तिक तरिकाबाट रुजुसूची र चेकलिष्ट तयार गरी गर्नुपर्ने कुरा स्थानीय पाठ्यक्रम प्रारुप, २०७७ ले सुझाएको पाइन्छ । यही अनुसार नै हाम्रो हेटौंडा उपमहानगरपालिका पाठ्यक्रममा पनि मूल्यांकनका आधारहरु समावेश गरिएका छन् ।
चः पाठ्यक्रमको विस्तृतिकरण तालिका ः
स्थानीय पाठ्यक्रमको विस्तृतिकरण तालिका बनाउँदा यसमा कक्षा, क्षेत्र, क्षेत्रगत सिकाइ उपलब्धि, विषयवस्तुको विस्तृतीकरण, सम्भावित शिक्षण सिकाइ क्रियाकलाप, मूल्यांकन र पाठ्यघण्टीसमेत उल्लेख गरिने हुँदा यसले कक्षा शिक्षणमा सहयोग गर्दछ ।
सामान्यतय स्थानीय पाठ्यक्रमअन्तर्गत पाठ्य पुस्तक तयार गर्न साधन, स्रोत र विशेषज्ञताको दृष्टिले सम्भव नभएसम्म कक्षामा शिक्षण गर्न यो तालिकाले शिक्षकलाई मार्गदर्शन गर्दछ । विस्तृतिकरण तालिकामा सक्षमता÷तहगत उद्देश्य र त्यसलाई हासिल गर्न प्रत्येक विषयगत क्षेत्रमा गरिने शिक्षण क्रियाकलाप र त्यसलाई मूल्यांकन गर्ने तरीकाहरु उल्लेख गरिएका छन् ।
निष्कर्ष ः
अब यो स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान प्रवोधिकरण गर्ने विषयविज्ञ वा प्रशिक्षकहरुले पनि अर्को टोलीले गर्ने अनुगमन तथा सुपरीवेक्षणमा शिक्षकले सफल कार्यान्वयन गर्न सक्ने गरी प्रवोधिकरण भएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाले प्रत्यक्ष रुपमा अनुगमन गर्नुपर्नेछ ।
(लेखकः श्री सिद्धार्थ मा.वि. सामाजिक विषय विभागका संयोजक, सामाजिक अध्ययन समाज (SoSTA Nepal) का महासचिव तथा “हाम्रो हेटौंडा उपमहानगर पालिका” स्थानीय पाठ्यक्रम निर्माण समितिका विषयगत प्राविधिक समितिका सदस्य पनि हुन् ।)