-सुनिता बिष्ट

हेटौंडा–असार १५ गते राष्ट्रिय धान दिवस । देशभर धान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु भए । कतै मन्त्रीले मेसिनबाट धान रोेपे त कतै विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा अन्य क्षेत्रका मानिसले पनि धान रोपाईं गरेर ‘धान दिवस’ मनाए ।

सामाजिकसञ्जाल धान दिवसको शुभकामनाले रंगीन बन्यो । किसानसँगै हातेमालो गरेर धान दिवस मनाउन पुगेका केही मानिसलाई धान रोपार्इंंले जति रमाइलो दियो, त्यति रमाइलो साँच्चै जीवन चलाउन धान रोप्नेहरुलाई भने मिल्न सकेन । महंगो धानको बिउ तथा रासायनिक मल अभावले मन पोल्दै धान रोपाईं गर्न हिलोमा टेकेका र असार १५ मा मात्र हिलो देखेकाहरुको मुस्कान फरक देखिन्थ्यो ।

हेटौंडा–६, चौघडाका नवराज कार्कीको १० कठठा खेतमा बुधबार रोपाईं थियो । बिउ, ट्याक्टर, खेताला सबै जटाएर बुधबारका लागि रोपाईंको दिन ठेगान गरेका उनलाई धानमा हाल्ने डीएपी मल नपाएपछि व्यर्थै रोपाईं गरेछु जस्तै लाग्यो ।

१ बिगाहा खेतमा धान रोप्नका लागि कम्तिमा ८० देखि ९० किलोसम्म डीएपी मल आवश्यक रहेका उनले हालसम्म १ किलो मल पनि पाएका छैनन् । अघिल्लो खेतीका रुपमा रहेको मकैबालीलाई पनि युरिया मल हाल्न नपाएकै कारण नवराजका खेतमा लागाइएका मकैमा धोगो लागेन ।

‘खर्च गरी गरी मकै रोप्यौं । मल हाल्ने बेलामा कतै मल नपाएपछि एउटै दान लागेन । त्यही मकै फाँडेर धान राप्न लाग्या छौं । हालसम्म पनि मलको अत्तोपत्तो छैन । डीएपी मल पाएनौं भने यो रोपाईंको पनि अर्थ हुँदैन । मल नभएपछि बिरुवा पहेंलो भएर जान्छ । धान फल्ने त के पराल पनि काम लाग्दैन होला,’ कार्कीले भने ।

सोही ठाउँकी कुमारी राईको पनि ९ कठ्ठा खेतको रोपाईं शुक्रबारका लागि ठेगान गरेर खेताला खोजिसकेकी छन् । बिहीबार उनको खेत हिल्याउने काम छ । रोपाईं गर्ने भन्दा पनि रोपार्इं गर्नुअघि तथा रोपाईंको भोलिपल्ट धानमा हाल्नलाई मल नभएपछि बिउ रोपौं कि नरोपौंजस्तै भएको उनले सुनाइन् ।

उनले भनिन्–जहिल्यै यस्तै हुन्छ । कति खर्च गरेर हामी खेती गर्छौं । कहिले मल पाइँदैन, कहिले खोजेजस्तो बिउ पाइँदैन । दुःख खेर जान्छ । चाहिने बेलामा डीएपी मल नपाएर तनाव छ । भोलिपर्सि युरिया मल पाइँदैन डीएपीमात्रै पाइने होला । दिक्क लाग्छ । आफ्ना दुःख सरकारले कहिल्यै नदेखेको भन्दै राईले गुनासो गरिन् ।

साल्ट ट्रेडिङले सकाइसक्यो कोटा
साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले चालु आर्थिक वर्ष २०७८÷०८० का लागि आएको कोटाको मल वितरण गरिसकेको कर्पोरेशन हेटौंडा प्रमुख मोहनप्रसाद बरालले बताए । कृषि मन्त्रालयको सिफारिसमा साल्ट ट्रेडिङले मकवानपुरका १० स्थानीय तहका लागि ५ हजार टन युरिया र ५ हजार टन डीएपी मल वितरण गरेको बरालले जानकारी दिए ।

साल्ट ट्रेडिङले ३० प्रतिशत्मात्र उपलब्ध गराउने गरेअनुसार चालु आर्थिक वर्षका लागि तोकिएको मल स्थानीय तहमा पुगिसकेको बताउँदै कार्यालय प्रमुख बरालले भने–हामीले मकवानपुरका लागि दिनुपर्ने मल उपलब्ध गराइसक्यौं । यस वर्षका लागि यतिनै सम्झौता भएको थियो । सोहीअनुसार उपलब्ध गराएका हौं । साल्ट ट्रेडिङको ढिलासुस्तीका कारण मलअभाव भएको भने होइन ।

बरालका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा मकवानपुरका लागि २९ हजार टन रासायनिक मल उपलब्ध गराइएको थियो । तर, चालु आर्थिक वर्षका लागि भने १० हजार टनमात्र उपलब्ध गराइएको उनको दाबी छ ।

३५ प्रतिशत रोपाईं सम्पन्न
जिल्लामा हालसम्म ३५ प्रतिशत् रोपाईं सम्पन्न भएको छ । जिलामा मकवानपुरे १, सावित्रीलगायत धान लगाइँदैछ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, मकवानपुरगढी, बकैया र वागमती गाउँपालिका बढी धान उत्पादन हुने क्षेत्र हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकवानपुर प्रमुख केपी पौडेलका अनुसार जिल्लामा हालसम्म ३५ प्रतिशत् धान रोपाईं भएको छ । जिल्लामा वर्षे र चैते धान गरी ११ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा वर्षे धानमा ९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा रोपाईं हुँदैछ । वर्षे धान रोपाईंमा हालसम्म ३५ प्रतिशत् रोपाईं सम्पन्न भएको पौडेलले बताए ।

उनले गत वर्ष वर्षे र चैते धान गरी मकवानपुरमा ४३ हजार ५ सय ६५ मेट्रिकटन धान उत्पादन भएको बताउँदै यस वर्ष बाढी र पहिरोले असर नगरे र किसानले समयमै रासायनिक मल, बिउ पाएको अवस्थामा १० प्रतिशत् उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here