हेटौंडा–हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले कृषक र कृषिको विकासका लागि बजेट छुट्याएर काम गर्ने बताएकी छन् । १९ औं धान दिवसमा हेटौंडा उपमहानगरको ११ को राप्ति सिचाईं र १७ को गुवाबारीमा आयोजित कार्यक्रममा उनले कृषिक्षेत्रको विकास र प्रवद्र्धनमा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताइन् ।
उनले कृषि, पशुपालन र अन्य खेतीका लागि विशेष योजना बनाएर काम गर्ने तयारीमा उपमहानगर रहेको जिकिर गरिन् । ‘हालसम्म वास्तविक किसानलाई सरकारले भेट्न नसकेको अवस्थामा हामी वास्तविक किसानकोमा पुगेर काम गर्ने तयारीमा छौं,’ उनले उपमहानगरका हरेक वडाहरुका कृषि प्राविधिकको व्यवस्था रहने बताइन् ।
आगामी आर्थिक वर्षको बजेटमा कृषिका हरेका क्षेत्रलाई समेटेर काम गर्ने तयारीमा उपमहानगर रहेको भन्दै कृषिको पकेट क्षेत्र, पशुपालनका योजनासहित आउन कृषक समूहलाई आह्वान गरिन् । हेटौंडा उपमहानगर केन्द्रित कृषि योजनालाई कार्यान्वयनमा ल्याउन वास्तविक किसान आवश्यक पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा उपमहानगर उपप्रमुख राजेश बानियाँले मानो रोपेर मुरी उब्जाउने पेशामा रहेका सम्पूर्ण किसानलाई धान दिवसको शुभकामना दिएका थिए । उनले भने–उपमहानगरलाई सबै हिसाबले अब्बल बनाउने अभियानमा रहेकाले सबैको सहयोग आवश्यक छ । कृषिकर्ममा रहेका सम्पूर्ण किसानलाई समेटेर आगामि आर्थिक वर्षबाट उल्लेखनीय काम गरिने उनले बताए ।