हेटौंडा–वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएका कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताको टोलीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले वागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन् ।
उनले नीतिगत् एवम् कानुनी र अन्य केही समस्याका कारण अस्पतालले सोचेजस्तो गति लिन नसकेको भन्दै यसलाई समाधान गर्दै भौतिक संरचना र जनशक्ति बढाएर अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने बताएका छन् ।
युवाहरुको टोलीले अस्पताल सुधारका लागि गरेको खबरदारीको प्रशंसा गर्दै उनले मन्त्रालय र अभियन्ताको एउटै चाहना अस्पताललाई राम्रो बनाउने भएकाले सहकार्य गर्ने बताए । आगामी आर्थिक वर्षमा अस्पतालको पूर्वाधार एवम् उपकरणको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको र काठमाडौंका विभिन्न अस्पतालसँगको सहकार्यमा सेवासुधार एवम् विस्तार गर्न लागेको मन्त्री लामाले बताए ।
अस्पतालको बेड क्षमता बढाउने र जनशक्ति थप्ने काममा समेत मन्त्रालयले नीति तथा कार्यक्रममै समावेश गरेर काम अघि बढाएको उनको भनाइ छ । स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप बढेकोमा आफू जानकार रहेको बताउँदै उनले बिमाबापत् रकम भुक्तानीमा ढिलाइ हुँदा अस्पताल समेत समस्या रहेकाले यसलाई पनि समन्वय गर्ने बताए ।
अस्पतालका जनशक्तिहरुले जिम्मेवारीपूर्वक काम गर्ने, मन्त्रालयले परेको समस्या समाधान गर्ने र सरोकारवाला पक्षले कमजोरीलाई आंैल्याउँदै समाधानमा सहयोग गर्ने हो भने हेटौंडा अस्पताल छिट्टै नमूना अस्पताल बन्ने मन्त्री लामाको विश्वास छ ।
छलफलमा युवा अभियन्ता टोलीले अस्पतालमा चिकित्सक एवम् कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका, उपकरण व्यवस्थापन, कर्मचारीको दरबन्दी व्यवस्थापन, बढ्दो चापलाई मध्यनजर गर्दै सेवाप्रवाहको रणनीतिलगायत विषयमा मन्त्री लामाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले अस्पताल सुधारका लागि मन्त्रालयले गरेका काममा आफूहरु समेत सहयोग गर्न तयार रहेको बताए ।
छलफलमा अस्पताल सुधारका अभियन्ता दीपेन्द्रचन्द ठकुरी, किशोर अर्याल, रामशरण कार्की, कृष्णराज कोइराला र दिनेश वाइबा लामालगायतको उपस्थिति थियो ।