Friday, June 9, 2023

८२ वर्षमा मतदाता

ताजा / भरखरै प्राप्त

–सुनिता बिष्ट
हेटौंडा–हेटौंडा–१९ नेवारपानीकी इन्द्रमाया डल्लाकोटी बुधबार हेटौंडा–५, सानोपोखरामा रहेको वागमती प्रदेश निर्वाचन कार्यालय पुगिन् ।

८२ वर्षकी इन्द्रमाया आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन निर्वाचन कार्यालय पुगेकी हुन् । बुढेसकालले छोएर चाउरी परेका हातले आफूलाई मनले खाएको पार्टीलाई भोट दिने रहर पूरा गर्न साथमा नाति र हातमा लौरोको साहरामा इन्द्रमाया नेवारपानीबाट सानोपोखरा पुगेकी हुन् ।

चर्को घामका कारण पसिनाले ज्यान भिजे पनि इन्द्रमायाको चाउरिएकोे गाला मुस्कानले टलक्क देखिन्थ्यो । उनी यति धेरै खुशी हुनुको कारण एउटै थियो–अब आफूलाई मनपर्ने उम्मेद्वारलाई भोट हाल्न पाइन्छ । अब आफूले पनि अरुले जस्तै भोट हाल्न पाइन्छ भन्ने खुशीले इन्द्रमाया दंग छन् ।

‘बृद्धभत्ता खाइरहेकी छु । भोट हालेर के हुन्छ र भनेर भोटकार्ड बनाइएन । हाल नातिहरुले कर गरेर ल्याए । अस्तिन नि भोट हाल्न त मन लाग्थ्यो । नाम नभइ भोट खसाल्न पाइन्नँ भनेर बुहारीहरुले भने । त्यही भएर बुहारी, नाति सबै मिलेर नाम लेखाउन ल्याएका छन्,’ खुशी हुँदै उनले भनिन् ।

अब भोटलिष्टमा नाम आएर भोट हाल्न पाइने बेलामा मनपर्ने पार्टीलाई भोट दिने इन्द्रमायाले बताइन् । उनले भनिन्–हालसम्म भोट हाल्न पाएकी छैन । बुढेसकालमा भए पनि आफ्नो अधिकार पूरा भएकोमा खुशी छु ।

फितलो व्यवस्थापन
हेटौंडा–१२, कल्याणटारबाट एउटा समूह मतदाता नामावलीमा नाम दर्ता गराउन बुधबार विहान ७ बजे नै हेटौंडा आइपुग्यो । कार्यालयको काम १० बजेबाट सुरु हुने भए पनि बेलैमा टोकन लिन विहानै आइपुगेका हुन् उनीहरु । वडाका एक राजनीतिक पार्टीले उनीहरुका लागि सवारीको व्यवस्था गरिदिएको थियो । सोही गाडीमा आएकी ६२ वर्षीया कृष्णमाया स्यांतान वडाका नेताले गर्दा आफूहरुलाई सहज भएको बताइन् ।

तर, निर्वाचन कार्यालयमा पाएको दुःख भने सम्झन मन नलाग्ने कृष्णमायाले बताइन् । ‘विहानै टोकनको लाइन, त्यसपछि चर्को घामले बेहोस नै होलाजस्तै हुन्छ । अरु त त्यस्तै हो, बुढाबुढीका लागि सजिलो हुने गरी मिलाइदिएको भए हुन्थ्यो । कतै बस्ने ठाउँ पनि छैन । हामी त घाम भएर यही रुखमुनि बसिरहेका छौं । सरकारी कार्यालयमा त सबै कुराको सुबिधा हुनु नि,’ कृष्णमायाले भनिन् ।

निर्वाचन कार्यालयको व्यवस्थापन फितलो भएको सेवाग्राहीले गुनासो गरे । विहान ६ बजेदेखि नै लाइनमा बस्न आए पनि ‘नेताहरुको पावर’ का आधारमा भित्र पठाइने सिस्टमले सोझाका लागि अन्याय भएको नेवारपानीका गोकुल डल्लाकोटीले बताए ।

‘दिनमा २ सय जतिकोे मात्र नाम संकलन गरिने भएपछि एउटा वडालाई एउटा दिन र अर्को वडालाई अर्को दिन भनेर तोकेको भए हुन्थ्यो । फितलो व्यवस्थापनले सबैले सास्ती खेप्नुपरेको छ,’ उनले भने–टोकन नपाउनेहरु फर्किनुपरेको छ । यस विषयमा केही निर्णय हुन सकेको छैन । आएका जतिकालाई टोकन दिने, निश्चित भन्दा बढीलाई मतदाता नामावली दर्ता नगराउने कारण सास्ती पाएका छौं ।

निर्वाचन आयोग आफैं एउटा संवैधानिक निकाय भएकाले स्थानीय प्रशासनले आफैं केही गर्न नसक्ने तर आयोगको आवश्यकताअनुसार स्थानीय प्रशासनले सहयोग र सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य सुरुअघि असार १ गते सर्वदलीय बैठक राखी केकसरी सहजीकरण गर्न सकिन्छ भनी छलफल भएको बताउँदै पाण्डेले आयोगले माग गरे आवश्यक जनशक्ति काजमा भए पनि व्यवस्थापन गरेर पठाउन सकिने उनले जानकारी दिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles