हेटौंडा–चालु आर्थिक वर्ष सकिन २४ दिनमात्र बाँकी छ । आर्थिक वर्षको अन्त्यसम्म कम्तिमा पनि ६० प्रतिशत् बजेट खर्च गर्नुपर्ने हुन्छ । तर, वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमध्ये ४५ प्रतिशत् पनि खर्च गर्न सकेको छैन । वार्षिक बजेटको ५८ प्रतिशत् खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ ।

प्रदेश सरकारले आगामी असारसम्म ३३ अर्ब २३ करोड ११ लाख खर्च गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिना अवधिमा ४२ प्रतिशत्मात्र बजेट खर्च गर्न सफल भएको हो । चालु आर्थिक वर्षमा करिब ७० प्रतिशत् बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी २४ दिनमा कम्तिमा २८ प्रतिशत् बजेट खर्च गर्नुपर्ने छ ।

५७ अर्ब ७२ करोड ९ लाख बजेटमध्ये प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख खर्च गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ ४६ दशमलव ८२ प्रतिशत्, पुँजीगत्तर्फ ३६ दशमलव ५८ प्रतिशत् र वित्तीयतर्फ ६५ प्रतिशत् खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख, पुँजीगत्तर्फ २९ अर्ब ७० करोड ४३ लाख र वित्तीयतर्फ २ अर्ब विनियोजन गरेको थियो ।

कुन मन्त्रालयको खर्च कति ?

प्रदेशका मन्त्रालयमध्ये हालसम्ममा सबभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयको कुल बजेटको ७१ प्रतिशत् खर्च गरेको छ । मन्त्रालयले ३५ करोड ६४ लाख १८ हजार बजेट रहेकोमा २५ करोड ४ लाख ९५ हजार खर्च गर्न सफल भएको छ ।

सबभन्दा कम बजेट खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ । ८६ करोड ४६ लाख ४५ हजार बजेट पाएको मन्त्रालयले ११ महिना अवधिमा २० करोड ७८ लाख खर्च गरेको छ । यो कुल बजेटको २४ प्रतिशत्मात्र हो । ७० करोड २९ लाख ७७ हजार बजेट रहेको उक्त मन्त्रालयले हालसम्म कुल बजेटको २८ प्रतिशत् अर्थात् २० करोड १२ लाख ४५ हजार खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ३८ प्रतिशत् बजेट खर्च गरेको छ । २३ अर्ब ७६ करोड ४९ लाख ३२ हजार बजेट रहेको भौतिक मन्त्रालयले ९ अर्ब ७ करोड ४६ लाख खर्च गरेको छ । ९ अर्ब ९७ करोड ५५ लाख ८४ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयले बजेटको ३७ प्रतिशत अर्थात् ३ अर्ब ७२ करोड ३ लाख खर्च गरेको हो । ४ अर्ब ३१ करोड ३८ लाख १ हजार बजेट पाएको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले बजेटको ३६ प्रतिशत् बजेट खर्च गरेको छ । उसले चालु आवको ११ महिना अवधिमा १ अर्ब ५७ करोड ६९ लाख खर्च गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुल बजेटको ३१ प्रतिशत् खर्च गर्न सकेको छ । ३ अर्ब ७६ करोड ४९ लाख ३२ हजारमध्ये १ अर्ब १९ करोड २२ लाख १९ खर्च गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here