हेटौंडा–हेटौंडा अस्पताल व्यवस्थापन समितिले आफ्ना चिकित्सकहरुलाई कडा चेतावनी दिएको छ । अस्पतालको सेवाको विषयलाई लिएर सर्वत्र विरोध हुन थालेपछि अस्पताल व्यवस्थापन समिति बाध्य भएर यस्तो चेतावनी दिएको हो ।
‘सरकारी र व्यवस्थापन समितिका डाक्टर अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटे तत्काल हामी निलम्बन गर्नेछौं,’ अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले भने । ‘डाक्टर भनेको २४ सै घण्टा आफ्नो ड्युटीमा हुन्छन् । अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा उपचारका लागि जान हामीले रोक लगाएका छौं । यदि यस्तो घटना भए हामी डाक्टरलाई निलम्बन गर्न तयार छौं,’ उनले थपे ।
उनले अस्पतालले कोरोनाको उपचारबापत् ३ करोड र बीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड राज्यसँग लिन बाँकी रहेका कारण आर्थिकरुपमा समस्या परिरहेको बताए ।
भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्णरुपमा सञ्चालन गर्न कठिन भएको हेटौंडा अस्पतालले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पताल व्यवस्थापन समितिले भवन र चिकित्सक अभावका कारण हालको अवस्था सिर्जना भएको जनाएको छ ।
‘हाम्रो अस्पताल ५० बेडको हो । थोरै दक्ष जनशक्तिमा हामीले धेरै काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामीसँग आवश्यक पूर्वाधार पनि छैन । जसका कारण गर्दा भद्रगोल जस्तो देखिएको हो,’ हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. रामचन्द्र सापकोटले भने ।
हेटौंडा अस्पतालका विषयमा केही सातादेखी सेवाग्राहीले पाएको असुविधाप्रतिको समाचार विभिन्न सञ्चारमाध्यममा समाचार आयो । विभिन्न रोगका बिरामीले सेवा समयमा नपाएको र सेवा लिँदा समस्या उत्पन्न भएको भन्दै सेवाग्राहीहरुले जनगुनासो आएपछि व्यवस्थापन पक्षलाई नेपाली कांग्रेस हेटौंडा नगर समितिले ध्यानाकर्षणपत्र बुझायो ।
अस्पताल व्यवस्थापन पक्षले कमीकमजोरी भए सुधार्ने र सेवालाई चासो दिँदै बिरामीलाई सुविधासाथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । सोही बीचमा गर्भवती महिलाले भिडियो एक्सरेमा कोटा प्रणाली भएकाले सेवा लिन समस्या भएको भन्दै पुनः सञ्चारमाध्यममा समाचार आयो ।
यस्ता घटना हुँदै गर्दा सोमबार स्वतन्त्र युवाहरुले साढे १० देखि साढे १२ बजेसम्म धर्ना अभियान चलाए । सोही क्रममा डाक्टर अस्पतालपरिसर बाहिर निस्किँदा सामाजिकसञ्जालमा डाक्टरलाई केरकार गरिएको भिडियो सार्वजनिक भएपछि मंगलबार अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले पत्रकार सम्मेलन गर्दै कर्मचारी अभाव र आवश्यक प्रविधि नभएकाले अस्पतालमा उपचार गराउन समस्या भएको बताएका छन् ।
उनले सोमबार भएको डाक्टरमाथिको आक्रमण शैलीको घटना निन्दनीय रहेको बताएका छन् । ५० वेडको स्वीकृतिप्राप्त अस्पतालमा ११० बेडको सेवा प्रदान गरिरहेको उनले बताए । उनले सेवा बढाएकाले बिरामीको चाप बढेकाले बिरामीले सेवा लिन केही समस्या रहेको बताए । उनले आईसीयु सेवाका साथै १२ जनाका लागि डाइलाइसिस सेवा प्रदान गर्दै आइरहेको बताए ।
६–७ वर्षअघि केही डाक्टरको मात्र सेवा पाइरहेका मकवानपुरबासीले हाल २५ जना डाक्टरबाट सेवा लिइरहेको उनले बताए । ‘सेवा बढेकै कारण सेवाग्राहीको चाप बढेको हो, जुन हाम्रा लागि राम्रो पक्ष हो,’ उनले नयाँ भवन सञ्चालनमा आएपछि सिटीस्क्यान र एमआरआई सेवा पनि सञ्चालनको तयारीमा रहेको बताए ।
कार्यक्रममा पत्रकारबाट उठेका प्रश्नहरुको जवाफ मेसु डा. सापकोटा, अस्पताल अध्यक्ष राजेश प्रसार्इंले दिएका थिए । उनीहरुले समयमा सेवाप्रदान गर्न कर्मचारी, चिकित्सक र प्रविधिको अभाव रहेको बताएका थिए ।