हेटौंडा–वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकर उत्पादन हुने हेटौंडाको मेसिन निरीक्षण गरी त्यसको विस्तारबारे चासो व्यक्त गरेका छन् ।
मेसिन निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुंगा सावित हुने बताए । हेटौंडा–८ का कृष्ण खतिवडाले ४ वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर मेसिन निर्माण गरी विदेश निर्यात गर्दै आएका छन् ।
मुख्यमन्त्री पाण्डेले उक्त मेसिन निरीक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए । उत्पादकले फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहे पनि आफूलाई जिम्मा दिए यस्ता मेसिन जडान गरेर समस्या निराकरण गर्न सकिने उल्लेख गरे ।
मेसिन बनाउने उद्योगको निरीक्षणको क्रममा यस्ता कामको प्रोत्साहनका लागि कार्यविधि बनाइने र कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । फोहोरबाट बिजुली र क्लिंकर उत्पादन गर्ने यस्ता मेसिन प्रयोगमा ल्याए फोहोर व्यवस्थापनमात्र नभएर फोहोरलाई मोहरमा परिणत गर्न सकिने उनले बताए ।
फोहोर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने उनको भनाइ छ । फोहोरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा यो राम्रो माध्यम बन्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उनले आफूले कृषिऔजार कारखाना खोल्नका लागि आगामी आवमा समेत बजेट विनियोजन गरेकाले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने विश्वास दिलाए ।
उक्त मेसिनले फोहोरमा भएका टिन, फलामलगायत बस्तु छानेर अलग गरिदिन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायत सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । नेपालमा वातावरणमैत्री भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा व्यवस्था नभएका कारण आफ्ना उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुःखेसो खतिवडाको छ ।
नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै निकायले खरिद नगरेको उनको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उनले बताए । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छाड्छ । उक्त मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट् बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए ।
उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिंकर निस्कन्छ, जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहज गर्न सकिने उनको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ ।
अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउन सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नका लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक खतिवडाले जानकारी दिए । नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएका कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताए ।
सहरी क्षेत्रका स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मा दिएमात्र पनि आफ्नो मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ । मेसिनबाट निस्कने विद्युत् र क्लिंकरले खर्च उठाउने भएका कारण आफूले जिम्मा पाए उक्त काम गरेर देखाउने उनको दाबी छ । खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिए । फोहोरमा फोहोरमात्र हुँदैन । त्यसमा अनेक जैविकतत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिने उनी बताउँछन् ।