नयाँ दिल्ली-भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ । एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् ।
सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो । कोभिशील्ड, कोभ्याक्सिन र स्पुत्निक भीमध्ये भारतमा उत्पादित आस्ट्राजेनेका खोप कोभिशील्ड सबैभन्दा बढी प्रयोग गरिएको छ। गएको डिसेम्बरमा भारतले कोभोभ्याक्स र कोर्बेभ्याक्सलाई अनुमति दिएको थियो।
क्याडीला नामक भारतीय कम्पनीले बनाएको कोभिड विरुद्धको विश्वकै पहिलो डीएनए खोप जाईकोभ-डी खोपलाई पनि भारतले अनुमति दिएको छ। तर यो उपलब्ध छैन। जोनसन एन्ड जोनसनको खोप र मोडेर्ना खोपलाई पनि भारतमा अनुमति दिइएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।