हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको हुप्रचौरमा सम्पन्न जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र मा.वि.ले हात पार्न सफल भएका छन् । शुक्रबार भएको फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी मा.वि.लाई सोझो सेटमा पराजित गर्दै महेन्द्र मा.वि.ले उपाधि जितेको हो ।
महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगर घोषित भएका छन् । उनीहरुले जनही २ हजार रुपैयाँ पाएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो ।
समापन कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।