Friday, June 9, 2023

जब पहिलो मन्त्री जन्मगाउँ पुगे

ताजा / भरखरै प्राप्त

हेटौंडा/मकवानपुरको अतिदुर्गम गाउँ, सोही गाउँका पहिला मन्त्री, त्यसमा पनि सीमान्तकृत समुदायका । मन्त्री बनेपछि जनमस्थल बिकट राक्सिराङ गाउँपालिका–७, धिराङमा पुगेका वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर चेपाङलाई स्थानीयले निकै स्वागत गरे । कागजको ब्यानर टाँगेर स्वागतमा जुटेका स्थानीयमा खुशीको सीमा रहेन ।

उनी राज्यमन्त्री नियुक्त भएको तेस्रो दिन जन्मघर पुगेका हुन् । जहाँ उनलाई स्थानीय र आफन्तजनले आफ्नै ढंगले भव्य स्वागत गरेको दृष्यले उक्त दृष्यका साक्षीहरुले निकै रमाइलो महसुस गरे । त्यहाँ उनले स्थानीयसँग फोटो खिचाए, दिनभर सँगै बसे । र, भने–आज सरकारी झण्डावाला गाडी लिएर गाउँ आउने अबस्था बनाउन हाम्रो समुदाय सक्षम भएको छ ।

चितवनको भण्डारा हुँदै मलेखु पुग्ने सडकखण्ड भएर धिराङ पुग्ने सडकको परिकल्पनाकारसमेत रहेका राज्यमन्त्री चेपाङ सरकारी गाडी चढेर गाउँ पुग्दा स्थानीयको हर्षको सीमा रहेन । थाकलटार हुँदै चितवनको भूभाग भएर अघि बढ्ने उक्त सडकको ट्रयाक खुलेपछि हिउँदमा सजिलै सवारी सञ्चालन हुन सक्ने अवस्था छ । तर, उनी आइतबार चितवनको लोथर बजार भएर करिब ८ घण्टा लगाएर धिराङ पुगेका हुन् ।

राज्यमन्त्री चेपाङले बाटोमा भेटिएका स्थानीयका कुरा सुन्दै अगाडि बढेका थिए । उनले धिराङमा अब ४ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढ्ने बताए । चेपाङ जातिको बाक्लो बसोबास रहेको धिराङ आर्थिक विपन्नता र अभाव खेपिरहेको चेपाङ बस्ती हो । आफ्नै गाउँका एक साधारण मानिस सन्तबहादुर राज्यमन्त्री बनेको खबर सुनेपछि आफूहरु उनलाई भेट्न निकै लालायित भएको स्थानीय रामबहादुर चेपाङले बताए । उनले मन्त्रीलाई भेटेर खादा, माला लगाउँदै विभिन्न टोलमा मन्त्री आएको खबर गर्दै स्वागत र सम्मानको व्यवस्था मिलाएका थिए ।

पहिलो पटक चेपाङ समुदायबाट प्रदेश सरकारमा मकवानपुरका चेपाङ राज्यमन्त्री बनेका हुन् । मकवानपुरको अतिबिकट गाउँका चेपाङले शपथपश्चात् सिंगो चेपाङ समुदायका निम्ति आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ८ कक्षासम्म अध्ययन गरेका करिब ४६ वर्षीय चेपाङ २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।

उनले सरकारले घरभाडाबापत् दिने पैसाबाट चेपाङहरुको स्वास्थ्य बिमा गर्ने उद्घोष गरे । चेपाङ समुदायमा बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले स्थानीयमाझ व्यक्त गरे । उक्त बिकट गाउँका विपन्न चेपाङ समुदायमा १२ वर्षदेखि विवाह हुने गर्दछ ।

राज्यमन्त्री चेपाङले भने–गाउँमा थप भौतिक विकासका लागि उहाँहरुको ठूलो अपेक्षा छ । म उहाँहरुको अपेक्षा पूरा गर्न लागिपर्नेछु । धिराङ पुग्दा उनलाई बृद्ध, बालबालिका, युवाले स्वागत र सम्मान गरे । सडक, शिक्षा र स्वास्थ्य सेवासुधारका लागि गाउँलेले उनीसँग माग गरे ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणनाअनुसार चेपाङको जनसंख्या ६८ हजारजति छ । यिनीहरु मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँमा छरिएका बसेका पाइन्छ । चेपाङको जीवन बनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरुको बसोबास बनजंगलनजिक, भिरालो परेको जमीन, खोलानजिक छरिएर रहेको पाइन्छ । उनीहरुको पुख्र्यौली पेशा खोरिया खेती हो । हाल आएर आधुनिक जीविकोपार्जनका माध्यम कृषि, तरकारी खेती, पशुपालन र व्यापार÷व्यावसायतर्फ पनि उक्त समुदाय उन्मुख छ ।

चेपाङको मुख्य बसोबास क्षेत्रमा च्युरीको रुख पाइन्छ । यसले उनीहरुको पहिचान बोकेको पाइन्छ । २०३४ सालको तत्कालीन राजाको भ्रमणपछि उनीहरुले आफ्नो जातीय नाम चेपाङबाट ‘प्रजा’ बनाए । जुनबेला राजा वीरेन्द्रले अति गरिबीको कारण ‘प्रजा भन्नू’ भनी आदेश गरे । २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरियो । चेपाङको आफ्नै मातृभाषा छ । यिनीहरुको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजिल्दो छ । चेपाङको परम्परागत् धर्म प्राकृतिक धर्म हो, जसअनुरुप चेपाङले रुखलाई पूजा गर्छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles