पदाधिकारीमा केसी पक्षका दुई जना उम्मेद्वार विजयी
–निशा गुरुङ
हेटौंडा–नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् हेटौंडामा वागमती प्रदेशको निर्वाचन सम्पन्न भएको छ । सोमबार रातिसम्म गरिएको मतगणनाबाट सभापति र पदाधिकारीहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचनको परिणाम हेर्दा वागमतीमा संस्थापन पक्षका उम्मेद्वारहरु अधिकांशले जित हाँसिल गरेका छन् । संस्थापनइतर समूहबाट उपसभापति र महामन्त्री एक÷एक जनामात्र विजयी भएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहबाट सभापतिमा क्रमशः इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानले उम्मेद्वारी दिएका थिए ।
पहिलो चरणको निर्वाचनमा बानियाँले ४८ प्रतिशत् मत ल्याएपछि प्रधानले बहुमत प्राप्त व्यक्तिलाई समर्थन गर्नुपर्छ भन्दै बानियाँलाई सहयोग गर्न अनुरोध गरेका थिए । दोस्रो चरणको निर्वाचन बानियाँ र केसीबीच भएको थियो । कांग्रेसको विधानमा सभापतिका उम्मेद्वारले खसेको मतमध्ये ५१ प्रतिशत् ल्याउनुपर्ने प्रावधान छ ।
नतिजाअनुसार कांगे्रस प्रदेश उपसभापतिमा मोहनबहादुर बस्नेत र चन्द्र महर्जन विजयी भएका हुन् । बस्नेतले १ हजार ५९ मत र महर्जनले १ हजार ३७ मत प्राप्त गरेका छन् । बस्नेत, केसी र महर्जन, बानियाँ प्यानलबाट उम्मेद्वार थिए । पदाधिकारीमा सबै बानियाँ प्यानलका उम्मेद्वार विजयी भइरहँदा केसी प्यानलबाट बस्नेतले मात्र बाजी मारेका हुन् । उनले बानियाँ प्यानलबाट उम्मेद्वारी दिएका धर्मराज गौतमलाई ५५ मतले पछाडि पारेर जित हासिल गरे । उपसभापतिमा उनले सबभन्दा बढी मत ल्याए ।
महामन्त्रीमा पनि केसी प्यानलका राजु श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले बानियाँ प्यानलका उम्मेद्वार गौरीप्रसाद दवाडीलाई पराजित गर्दै जित हासिल गरे ।
महामन्त्रीमा माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित भएका छन् । निर्वाचित कञ्चन बादेले ९ सय ९५ र राजु श्रेष्ठले ९ सय १० मत प्राप्त गरेका छन् । बादे केसी र श्रेष्ठ बानियाँ प्यानलबाट उम्मेद्वार बनेका थिए ।
सहमहामन्त्री महिलामा जीवन डंगोल निर्वाचित भएकी छन् । उनले ९ सय ४९ मत प्राप्त गरेकी छन् । सहमहामन्त्री खुलातर्फ ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी बनेका छन् । घिमिरेले ९ सय १६ मत प्राप्त गर्दा श्रेष्ठले ८ सय ३९ मत प्राप्त गरेका थिए । प्रदेशको कार्यसमिति पदाधिकारीमा बानियाँ र केसीको संख्या चार–चार जना देखिन्छ ।
यसबाट कांग्रेसका मतदाताले प्यानलका आधारमा मात्र नभएर उम्मेद्वारको लोकप्रियता र आवश्यकताका आधारमा मतदान गरेको संस्थापन पक्षका एक नेताले बताए । ‘सबै एउटै प्यानलबाट पदाधिकारी आउनुपर्छ भन्ने हुदैन । अर्कै प्यानलमा पनि सक्षम व्यक्ति हुन्छन् र सबैले प्यानल हेर्दैनन् । उम्मेद्वारको योगदान र उसको लोकप्रियतालाई हेरेर कांग्रेसमा मत दिइन्छ,’ उनले भने । प्रदेशमा कांग्रेसका पदाधिकारीसहित ९१ सदस्यीय कार्यसमिति बन्नेछ । सदस्यको मतगणना भने भइरहेको निर्वाचन अधिकृत केशब काफ्लेले जानकारी दिए ।
किन पराजित भए केसी ?
वागमती प्रदेशको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रकाशमान सिंहले पाएका थिए । सिंह आक्रामकरुपमा अघि बढिरहेका छन् सभापति शेरबहादुर देउवाविरुद्ध । यही प्रदेशमा संस्थापनइतरबाट गगन थापा पनि देउवाविरुद्ध खरो उभिने नेता हुन् ।
दुई नेताको बलियो उपस्थिति, केसी परिवारको लिगेसी र वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ रहँदा पनि यो साख भने संस्थापनइतरले जोगाउन सकेन । प्रदेशको अधिवेशनलाई कांग्रेसको मिनी महाधिवेशनका रुपमा समेत हेरिएको थियो । कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधान संस्थापन पक्षमा उभिँदा पार्टी सभापति देउवाका विश्वासपात्र बानियाँले सहज जित निकालेका हुन् । उक्त साख जोगाइदिएकोमा देउवा बानियाँसँग खुशी छन् ।
संस्थापनइतर बलियो हुँदाहुँदै…
केसीको हार संस्थापनइतरकै कमजोरी भएको एक महाधिवेशन प्रतिनिधिले बताए । संस्थापनइतरका ती प्रतिनिधिले भने–यो संस्थापनइतरकै कमजोरी हो । जित्ने अवस्था हुँदाहुँदै केसीको कमजोरीले बानियाँको पक्षमा माहोल बनिदियो ।
संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि भने यसलाई हारजितको रुपमा लिन नहुने बताउँछन् । कांग्रेसका मतदाताले प्यानलको आधारमा मात्र नभएर उम्मेद्वारको लोकप्रियता र आवश्यकताको आधारमा मतदान गरेको परिणामबाट देखिएको प्रदेश प्रतिनिधि नवराज लामाले बताए ।