थाहानगर–नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन तयारीका लागि थाहामा नगर सम्मेलन सचिवालय कार्यालय स्थापना गरिएको छ ।
बुधबार थाहा–३ स्थित थाहा नगरपालिका कार्यालयसँगै स्थापना गरिएको सचिवालय कार्यालय माओवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु बिष्ट (आदर्श) ले शुभारम्भ गरे । बिष्टले नगर सम्मेलन भव्य र सभ्यरुपले सम्पन्न गर्न सचिवालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सचिवालय शुभारम्भ कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य तथा थाहा नगर इञ्चार्ज लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी, थाहा नगर निर्वाचन कमिटी संयोजक बिमलकुमार बिष्टलगायतको उपस्थिति थियो ।
नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय तालिकाअनुसार थाहा नगरका सम्पूर्ण वडामा आफ्नो अधिवेशन गरेको छ । अधिवेशनले आसन्न नगर अधिवेशनका लागि प्रतिनिधि÷पर्यवेक्षकको टुंगो लगाएको नगर अध्यक्ष अरुण रायमाझीले जानकारी दिए ।
वडा १ मा अध्यक्ष हीराकाजी गोपाली, सचिव आयुष बिक, वडा २ को अध्यक्षमा शंकर लामा र सचिव सानोबाबु सिन्तान, वडा ३ अध्यक्षमा हीरेन्द्र रायमाझी, सचिव शिवहरी बर्तौला, वडा ४ मा अध्यक्ष जमिन दियाली, सचिव गणेश लामा, वडा ५ अध्यक्ष जगन्नाथ वाइबा, सचिव बिमल पाख्रिन, वडा ६ अध्यक्षमा प्रताप रुम्बा, वडा ७ अध्यक्ष रामबहादुर घलान, सचिव मोहनशम्सेर लामा, वडा ८ अध्यक्ष धनराम घलान, सचिव चेतनाथ घलान छन् ।
वडा ९ अध्यक्षमा हरिशरण नेपाल, सचिव रवीन्द्र बलामी, वडा १० मा अध्यक्ष रामकृष्ण गोपाली, सचिव मोतीराम गमाल, वडा ११ अध्यक्ष दिनेश बल, वडा १२ अध्यक्षमा हीरामान घलान र सचिव नवराज वाइबा छन् ।
नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी प्रथम नगर सम्मेलन उद्घाटनका लागि माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज लीलामणि पोखरेल थाहा नगर आउने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यक्रमअन्तर्गत् मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलनअन्तर्गत् थाहा नगर सम्मेलनको प्रमुख अतिथिका रुपमा पोखरेल थाहा नगर आउने भएका हुन् । थाहा नगरको जेसीज हलमा हुने सम्मेलनको तयारी भइरहेको नगर अध्यक्ष अरुण रायमाझीले बताए ।
सम्मेलनले आगामी दुई वर्षका लागि ६५ सदस्यीय नेतृत्व चयन गर्नेछ । सम्मेलनले ५९ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ भने थप ६ सदस्य नगर कमिटीले मनोनित गर्नेछ ।
सम्मेलनमा समावेशी किसिमले वडाबाट प्रतिनिधि २ सय जना, नगर सम्मेलन आयोजक कमिटी ८१ जना गरी २ सय ८१ जना प्रतिनिधि र ६० जना पर्यवेक्षक सहभागी हुने नगर अध्यक्ष रायमाझीले बताए ।
माओवादी केन्द्रको विधानमा हरेक कमिटीमा महिला ३५ प्रतिशत्, दलित १५ प्रतिशत् र युवा २० प्रतिशत् सहभागिता अनिवार्य गरेको छ । पार्टीको विधानअनुसार नगर कमिटी गठन हुने थाहा नगर इञ्चार्ज लक्ष्मण बिष्टले बताए ।